काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।
फास्ट फुड एसोसिएसन नेपालले शनिबार आयोजना गरेको बडादशैँ लगायतका चाडको शुभकामना आदानप्रदान तथा कर प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका गुरुङले देशमा लगानी बढेपछि सेवा क्षेत्र विस्तार भई रोजगारीका अवसर सृजना हुने बताउनुभयो । यसका लागि स्थिर सरकार र सही नीति आवश्यक रहेको गुरुङले स्पष्ट पार्नुभयो । ‘स्थिर सरकार भएन भने नीतिगत स्थायित्व हुँदैन, नीतिगत स्थायित्व भएन भने विकास र समृद्धिले फड्को मार्न सक्दैन’, उहाँले भन्नुभयो ।
गुरुङले अहिलेको सरकार राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि बनेको दाबी गर्नुभयो । ‘राजनीतिक स्थायित्वका लागि नेकपा एमालेले नेपाली काँग्रेससँग सहकार्य गरेको हो’, उहाँले भन्नुभयो ।
नीतिगत सुधार नगरी देखिने गरी परिवर्तन नहुने स्पष्ट पार्दै गुरुङले सरकार नीतिगत क्षेत्रमा सुधारका काममा लागेको बताउनुभयो । त्यसैले तत्काल सोचे जस्तो परिणाम आउन नसक्ने उहाँले स्पष्ट पार्नुभयो । जनताले महसुस गर्ने गरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।
चाडपर्व प्रारम्भ हुन लागेको बेला बाढी पहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको गुरुङले बताउनुभयो । पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गरिने पनि उहाँले आश्वासन दिनुभयो ।
देशका विभिन्न स्थानमा एकै पटक बाढी पहिरोका कारण धनजनको क्षति भएको उहाँले बताउनुभयो । ‘सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन्, यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ’, उहाँले भन्नुभयो ।
दशैंँ, तिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्ने गरी सरकारले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । सडक अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको उहाँले बताउनुभयो ।



S.K. Creative Media Group