प्यूठान । जिल्लामा निर्माण सम्पन्न भएको विद्युत सव–स्टेशन सञ्चालनमा नआउँदा विद्युतका उपभोक्ताले हैरानी व्यहोरेका छन । प्यूठान नगरपालिका–८ दम्तीमा सव–स्टेशन निर्माण सम्पन्न भएपनि अहिलेसम्म सञ्चालनमा नआउँदा उपभोक्ताले सास्ती व्यहोरेका हुन ।
सव–स्टेशन सञ्चालनमा नआउँदा जिल्लावासीले लामो समयदेखि समस्या भोग्नुपरेको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । उक्त विषयमा दुई वर्ष अगाडी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको पोख्रेलले जानकारी दिनुभयो । तर अहिलेसम्म सञ्चालनमा आउन नसक्दा उपभोक्ता मारमा परहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीको पहलमा मंगगलबार जिल्ला समन्वय समितिमा भएको सर्वपक्षीय बैठकमा ठेक्का तोडेर भएपनि सव स्टेशन सञ्चालनको लागि बाँकी काम अघि बढाउने निर्णय भएको छ । श्री त्रिपुरेश्वर जयदुर्गे जेभीले २०७४ जेठ १७ गते निर्माण सम्झौता गरेको थियो । ७३ प्रतिशत भुक्तानी लिइसकेको कम्पनीले स्थानीयको अवरोध भन्दै काम रोकेको नेपाल विद्युत प्राधिकरण प्युठानका कार्यालय प्रमुख इन्जिनियर प्रज्वल हुमागाँईले बताउनुभयो ।
बैठकमा नेपाल विद्युत प्राधिकरण डिभिजन कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख इन्जिनियर राजिव कुमार सिंहले निर्माण कम्पनीसँग सम्झौता तोडेर भएपनि बाँकी काम पुरा गर्ने बताउनुभयो । डेढ वर्षदेखी निर्माण कम्पनी सम्पर्कमा नरहेको उहाँको भनाई छ ।



S.K. Creative Media Group