प्यूठान । जिल्लामा सञ्चालनमा रहेको युएसएआइडी किशोरकिशोरी प्रजनन स्वास्थ्य परियोजनाको जिल्ला स्तरीय समीक्षा बैठक सम्पन्न भएको छ । आज विजुबारमा सरोकारवाला निकायहरुको सहभागितामा जिल्ला स्तरीय समीक्षा गरिएको हो ।
प्यूठानको नौबहिनी गाउँपालिका, गौमुखी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका, प्यूठान नगरपालिका र झिमरुक गाउँपालिकामा परियोजना लागु भएको छ । परियोजनाले किशोरकिशोरीहरुको परिवार योजना तथा प्रजनन स्वास्थ्य सुधार गर्न संघ, प्रदेश, स्वास्थ्य कार्यालय र स्थानीय सरकारसँगको समन्वयमा काम गर्दै आएको जिल्ला कार्यक्रम व्यवस्थापक प्रतिभा पाण्डेले बताउनुभयो । प्यूठान जिल्लाको पाँच वटा पालिकाको ३० वटा वडामा प्रत्यक्ष रुपमा कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
ती वडामा किशोरी समुह, किशोर समुह, युवा आमा समुह, किशोरीहरुको आमा समुह र किशोरहरको बुवा समुह गठन गरिएका छन । १८० वटा समुहमा नियमित रुमा सामाजिक विश्लेषण तथा व्यवहार परिवर्तन सम्बन्धि संवाद सत्र सञ्चालन भएको उहाँको भनाई छ ।
किशोरकिशोरीहरुलाई परिवार योजना तथा प्रजनन स्वास्थ्यको विषयमा सुसुचित गराउन तथा उनीहरुको सेवाको उपयोग बढाउन यो परियोजनाले स्थानीय सरकार तथा अन्य सरोकारवालाहरुसँग मिलेर विभिन्न नविनतम विधिहरु अपनाउने गरेको पाण्डेले बताउनुभयो ।
परियोजना अन्र्तगत स्वास्थ्य आमा समुहहरुमा गुणस्तरीय स्वास्थ्यको लागि आफनै पहल साथ विधिको कार्यान्वयन, युवाको अगुवाईमा सामुदायिक स्वास्थ्य प्राप्ताङ्क बोर्ड, सामुदायिक स्वास्थ्य प्राप्ताङ्क बोर्ड अर्धवार्षिक समिक्षा, महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविकाहरुलाई मोडुलर तालिम, जनप्रतिनिधिहरुलाई स्वास्थ्य सम्बन्धि अभिमुखिकरण, सचेतना अभिवृद्धिका लागि विभिन्न दिवश मनाउने, स्वास्थ्य संस्थाहरुमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको लागि स्वःमूल्याङ्कन, कार्ययोजना निर्माण र फलोअप गर्ने, किशोरकिशोरी मैत्री प्रजनन स्वास्थ्यको लागि स्थलगत अनुशिक्षण, नीजि स्वास्थ्य सेवा प्रदायकहरुलाई अभिलेख तथा प्रतिवेदन, संगिनि तालिम, किशोरकिशोरी मैत्री सेवा सम्बन्धि तालिम, स्थानीय निकायलाई निति पुनरावलोकन तथा निर्माण र नीति संवादका लागी सहयोग, स्थानीय तहमा युवा समुह गठन तथा क्षमता विकासका कार्यक्रम गर्ने गरेको छ ।
लुम्बिनी प्रदेशको ३ वटा जिल्ला, मधेश प्रदेशको ६ वटा जिल्ला र कर्णाली प्रदेशको २ वटा जिल्लामा परियोजना लागु भएको छ । युएसएआइडीको आर्थिक सहयोग रहेको परियोजनाको प्रमुख साझेदार केयर नेपाल, कन्सोर्टियम साझेदारहरु एचडिआई, जपाईगो, आयोन नेपाल र नेपाल सिआरएस कम्पनी रहेका छन् । जिल्ला साझेदारका रुपमा प्यूठानमा मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र रहेको छ । वि.सं. २०७९ सालदेखी शुरु भएको यस परियोजनाको अवधि वि.सं. २०८४ सम्म रहेको छ ।
स्वास्थ्य कार्यालय प्यूठानका निमित्त प्रमुख मधुसुदन खड्को अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको समीक्षा बैठकमा कार्यक्रम लागु भएका पालिकाका प्रमुख, उपप्रमु, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा तथा खेलकुद शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, किशोरकिशोरी र अन्य सरोकारवाला निकायको सहभागिता थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका सुपरभाईजर राजु कुमार खड्काले जिल्लामा किशोरकिशोरीको क्षेत्रमा स्वास्थ्य तर्फको प्रस्तुती प्रस्तुत गर्नुभएको थियो भने परियोजनाका जिल्ला कायृक्रम व्यवस्थापक प्रतिभा पाण्डेले परियोजनाले गरेको कार्यक्रमको प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रममा प्यूठान नगरपालिकाका प्रमुख विष्णु बहादुर योगीले परियोजनाले जनचेतना जगाउने काम गरेको भन्दै किशोरकिशोरीको प्रजनन स्वास्थ्यको विषयमा छलफल गर्ने वातावरण सृजना भएको बताउनुभयो । उहाँले आफ्नो पालिकामा संस्थागत सुत्केरीको अवस्था र बाल विवाहको अवस्था कमजोर रहेको उल्लेख गर्दै आगामी दिनमा ती सूचकहरुमा सुधार ल्याउन क्रियाशिल रहने बताउनुभयो । परियोजनाले आगामी दिनमा अगाडी बढ्न मार्ग निर्देशन र सुझाव दिएको बताउनुभयो ।
कार्यक्रममा सहभागी स्वास्थ्य शाखा प्रमुख, किशोरकिशोरी लगायतले परियोजनालाई थप प्रभावकारी बनाउन सुझाव दिएका छन् । हाल पाँच वटा पालिकामा सञ्चालन भएको परियोजनालाई जिल्लाका सवै स्थानीय तहमा सञ्चालन गर्न उनीहरुले आग्रह गरेका छन । परियोजनाको प्रगति, सिकाई र समीक्षा सम्वन्धि छलफल गर्ने उदेश्यले जिल्ला स्तरीय समीक्षा बैठक आयोजना गरिएको मल्लरानी ग्रामीण विकास संस्थाका कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले बताउनुभयो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कोल्ड चेन अधिकृत कोशलराज वैद्यले गर्नुभएको थियो ।








S.K. Creative Media Group