प्यूठान । प्यूठानको दम्तीमा निर्माण भएको सबस्टेशन संञ्चालनमा आएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको प्यूठान नगरपालिका-८ स्थित दम्तिमा निर्माण गरिएको ३३–११ केभी सबस्टेशन बुधबार देखि संञ्चालनमा आएको हो।

नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रले आयोजना गरेको सबस्टेशन संञ्चालन कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य सुर्य बहादुर थापा क्षेत्रीले नवनिर्मित सबस्टेशन संञ्चालनमा आएपछि जिल्लामा विद्युत डिम हुने अनियमित भइ छिनछिनमा आउने, जाने समस्या हटेर जाने बताउनुभयो । सबैको सहकार्य र तदारुकताको कारण अलपत्र सब-स्टेसन प्रारम्भ हुनु जिल्ला बासीको निम्ति सुखद भएको उहाँले बताउनुभयो । प्रतिनिधि सभा सदस्य थापाले जिल्लाको बिकासमा एकमतका साथ सबै तह लाग्नुपर्ने बताउनुभयो ।

सबस्टेशन संञ्चालन गर्न थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन संवाद मार्फत आग्रह समेत गर्नुभएको थियो । प्यूठानका ६४ वडा मध्ये नौबहिनी गाउँपालिकाको स्याउलीवाङ र गौमुखी गाउँपालिकाको रजवारामा विद्युत आपूर्ति व्यवस्थापन गरी जिल्लालाई शत प्रतिशत विद्युत आपूर्ति जिल्ला घोषणा गर्ने कार्यक्रममा सरिक हुन समेत थापाले घिसिङलाई आग्रह गर्नुभयो ।

निर्माण थालिएको झण्डै ८ वर्षपछि सबस्टेशनलाई संञ्चालनमा ल्याइएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानका प्रमुख महेन्द्र कुमार दासले जानकारी दिनुभयो।उहाँका अनुसार ३३ केभीए प्रसारण लाइनबाट ११ केभीए मार्फत विद्युत वितरण गरिनेछ । सबस्टेशन संञ्चालनमा आएसँगै जिल्लामा करिब ३२ हजार जनता यसबाट प्रत्येक्ष लाभान्वित हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब जुम्रीबाट ३३ केभीबाट दम्ती सबस्टेशन विद्युत् जान्छ, त्यसपछि मात्र ११ केभीबाट वितरण गरिने छ।` जसले गर्दा भोल्टेज सुधार भइ विद्युत् नियमित आपूर्ति हुँदा जनतालाई थप सहज हुने बताउनुभयो।

सबस्टेशन संञ्चालनमा आएपछि भोल्टेज सुधार हुने, अनियमित विद्युत आपूर्तिको समस्या हटेर जाने, ११ केभी लाईनमा कभर तार राखिने, र सुरक्षा जोखिम समेत कम् हुँदै जाने छ । सबस्टेशनबाट बाग्दुला हुँदै जुम्री बजारसम्म कभर तारमा विद्युत आपूर्ती व्यवस्थापन गरिएको छ । ३३ केभीएका ट्रान्सर्फमरहरु हटाउँदै ११ केभीएका ट्रान्सर्फमरहरु राख्दै जाने प्राधिकरणले जनाएको छ । सब-स्टेशनबाट तीन वटा फिडर मार्फत विद्युत आपूर्ति गरिने छ ।

२०७४ जेठ १७ गते सबस्टेशन निर्माणका लागि प्राधिकरण र श्री त्रिपुरेश्वर जयदुर्गे जेभीबिच ५ करोड ३६ लाख ६० हजार ६ सय ८२ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । स्थानीयले काममा अवरोध गरेको भन्दै सब-स्टेशनको काम ठेकेदार कम्पनीले पूरा गर्न नसक्दा सबस्टेशन अलपत्र पर्दै आएको थियो । प्राधिकरणले ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी बाँकी काम पूरा गरेसँगै सबस्टेशनलाई संञ्चालनमा ल्याएको हो ।

अब यो संञ्चालनमा ल्याइएको सब-स्टेशनले ३३ केभिए प्रसारण लाइनलाई ११ केभिमार्फत वितरण गर्न सहयोग गर्नेछ । सबस्टेशन संञ्चालनमा आएसँगै विद्युत् वितरण र विद्युतीय जोखिमले हुने क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने केन्द्रले जनाएको छ ।

जिल्लाका ९ वटा स्थानीय तहका ६४ वडामध्ये नौबहिनी-१ को स्याउलीबाङ, गौमुखी-३ खरा बाहेक सबै स्थानमा विद्युत् लाइन पुगेको प्राधिकरणले जनाएको छ । जिल्लाका ४५ हजार घरधुरीमध्ये ४४ हजार घरधुरीमा विद्युत् पुगेको छ । आउँदो पुस महिनाभित्रमा सबै घरमा विद्युत् पुग्ने नेपाल विद्युत प्राधिकरण प्यूठान शाखाले जनाएको छ ।

जिल्लामा दुई साता अघि प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीको समन्वयमा बसेको सर्वपक्षीय बैठकले तिहार अघिनै सबस्टेशन संञ्चालनमा ल्याउन विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो ।

प्यूठान जिल्लाबाट प्रतिनिधि सांसद् सूर्यबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको एक समारोहकाबिच सब-स्टेसन संञ्चालनमा ल्याइएको हो। जसमा प्युठान नगरपालिकाका प्रमुख विष्णु योगी, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का, झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख जिल्ला अधिकारी रमा आचार्य, डिएसपी दिपेश बस्याललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् संचारकर्मी उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय