प्यूठान । जिल्लाको सरुमारानी गाउँपालिका स्थित पाङ्कोटको एउटा सिंगो गाउँ नै नेकपा एमालेमा समाहित भएको छ । जिल्लाको सरूमारानी-६ पाङकोटको सिंगो गाउँका माओवादीका नेता कार्यकर्ता सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सहकारी सम्बन्धी संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापाले माओवादी परित्याग गर्नुभएका २४ घरका सम्पुर्ण नेता कार्यकर्तालाई एमालेमा स्वागत गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का नेता रमेशबहादुर बाठाको नेतृत्वमा २४ घरपरिवार नै एमालेमा प्रवेश गर्नुभएको नेकपा एमाले प्यूठानले जानकारी दिएको छ। पाङ्कोट बस्तीमा ३० घर रहेकोमा २४ घरको परिवार एमालेमा प्रवेश गर्नुभएको हो । बाठाका अनुसार देशमा अन्य पार्टीमा लागेर परिवर्तन गर्न नसकिने भन्दै आफू सहित २४ घरका सबै नेकपा एमालेमा प्रवेश गरेको बताउनुभयो ।
उहाँले सडक, खानेपानी, पर्यटन, पुल लगायतका अन्य बिकासका लागि पटकपटक भनेको तर सुनुवाइ नभएकोले नेकपा (माओवादी केन्द्र) बाट गाउँको बिकास र समृद्धि सम्भव नहुने भन्दै जनताको पार्टी एमालेनै भएको ठहर गर्दै पार्टी प्रवेश गरेको उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य थापाले नव प्रवेशी बाठा सहित सम्पुर्ण नेता कार्यकर्तालाई टीका माला र अबिर लगाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा संविधान सभा सदस्य धन बहादुर रायमाझी, प्रदेश सभा सदस्य तुल्सिराम शर्मा, सरुमारानी गाउँपालिका अध्यक्ष झक बहादुर विश्वकर्मा जिल्ला तथा पालिकाका नेताकार्यकर्ता स्थानीय लगायतको बाक्लो उपस्थिति रहेको थियो ।





S.K. Creative Media Group