प्यूठान । प्यूठान दहखोलामा बसोबास गर्ने दशनामी गिरी (महन्त)हरुले तिहारको दुई दिन पछाडी अर्थात तिहारे पञ्चमीको दिन कुलपुजा गरिएको छ। बुधबार झिमरुक-६ दहखोलाका दशनामी गिरी परिवारले शिद्ध मन्दिरमा जम्मा भएर सामुहिक कुलपुजा गरिएको हो ।

तिहारे पञ्चमीको दिन सबै दाजुभाइ इष्टमित्र आफन्त जम्मा भइ सामुहिक कुलपुजा गर्दै आएको छ । गाउँका सबैजना भेलाजम्मा भएर भण्डारा लगाएर खुवाउने गरिन्छ । तिहारे पञ्चमीको दिनलाई यहाँ बसोबास गर्ने महन्त गिरीले कुलपुजाको रुपमा मान्यता दिइदै आएको कुलपुजाका मुख्य पुजारी शोभा गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामुहिक रुपमा भण्डारा खुवाउने परम्पराले भाइबन्धुहरु बिच आत्मीयता, भाइचारा, भातृत्व, एकता, सद्भाव, अहिंसा सदैब कायम रहिरहोस भन्ने सन्देश दिएको छ । तिहारे पञ्चमीको दिन कुलपुजा गर्दा वा भण्डारा लगाउदा लाग्ने खर्च सबै घरपरिवार मिलेर ब्यवस्थापन गर्दै आएको पुजारी गिरीले बताउनुभयो । लडाइ झगडा हिंसा त्यागेर शान्तिको बाटो समातेकोले कुलपुजाको दिन मारकाट नगर्ने छोइछिटो नगर्ने निराहार बस्ने गरिन्छ। मारकाट त्यागेर शान्ति र अहिंसाको मार्ग रोजेकोले कुलपुजामा जनावरको समेत हत्याहिंसा नगर्ने चलन रहेको स्थानिय जानकार बताउछन् ।

वर्षको एकपटक तिहारे पञ्चमीको दिन मौलो फेर्ने चलन समेत रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदम गिरीले जानकारी दिनुभयो । मौलोको रुपमा बासको लिंगो गाड्ने चलन छ । लिङ्गोको टुप्पोमा गेरुरंगको कपडाको ध्वजा बनाई चढाउने गरिन्छ । मौलो पुजेर सबै विधि अनुसार पुजा आराधना सकेर प्रसादको रुपमा त्यही मन्दिरमा बनाइएको हलुवा, खिर, रोटि, अचार, तरकारी, आफन्त र पाहुनालाई प्रसादको रुपमा खाने खुवाउने चलन रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

यहाँका महन्त गिरीहरुले प्रत्येक वर्ष नयाँ बाली भित्र्याउदा मन्दिरमा न्वाइँ चढाएर मात्र खाने चलन छ । खासगरी शिद्ध मन्दिरमा तिहारे पञ्चमी र नाग पञ्चमीमा विशेष पुजाआजा गरि धुमधामका साथ मनाउदै आएको उहाँले बताउनुभयो ।

वडा सदस्य मित्रु गिरीका अनुसार यो मन्दिर यस क्षेत्रकै महत्त्वपूर्ण मन्दिर रहेको र यहाँ प्युठान आसपास लगाए रोल्पा समेतबाट पुजाआज गर्न आउने चलन रहेको बताउनुभयो । पुजा सँगै भैलो नाच समेत देखाउने गरिन्थ्यो । उहाँले भन्नुभयो, अहिले केही वर्ष अगाडिदेखि आउन छाडिएको छ । अहिले भने दहखोलामा रहेका दशनामी गिरीहरुले मात्र नियमित पुजा भैलो खेल्ने गरिदै आएको बताउनुभयो ।

दहखोले दशनामी गिरी महन्तहरु अहिले प्युठान, दाङ, काठमाडौं, गैंडाकोट, टिकापुर कैलाली, बुटवल भारतको आसाम बर्मा समेत रहेको छन । अहिलेसम्म करिब १०० बढी घरधुरीमा फैलिएको छ ।

करिब ३०० सय वर्ष अगाडि भारतको काश्मिर राज्यमा गोबिन्द चन्द (ठकुरी वंश) राजाको राजकाज थियो । त्योबेला त्यहाँका एक छिमेकी मुस्लिम राजा संग लडाइँ हुँदा पराजित भएपछि गोबिन्द चन्द आफ्ना चेला सहित सुरक्षित स्थानको खोजिमा नेपालको प्युठान दहखोला आएको पुरानो किबदन्ती रहेको छ ।

काश्मिरको लडाइँमा पराजय भएपछि उहाँ सन्यासी भएर नेपाल आएको र साथमा ४ जना ब्यक्ती समेतलाई लिएर आएको भनाइ छ । कास्मिरबाट नेपालको प्युठान आएपछि दहखोला गैराबरीमा मौलो बनाइ छेउमा कुटी बनाएर बसेको भन्ने भनाइ छ ।

शताब्दी पुरुष टुकमान गिरीलाई सम्मान

कुलपुजाको अवसर पारेर एक सय वर्ष पूरा भइ एक सय एक वर्षमा लाग्नु भएका परिवारको जेष्ठ नागरिक टुकमान गिरीलाई सम्मान गरिएको छ । हाल राप्ती गाउँपालिका-२, बराहखुट्टी बस्ने गिरीलाई कुलपुजामा आमन्त्रित प्रमुख अथिती झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र बिशेष अथिती उपाध्यक्ष प्रमोद पोख्रेल र वडा अध्यक्ष धन बहादुर पुनले टीका, माला र दोसल्लाले सम्मान गर्नुभएको हो । कार्यक्रममा जनप्रतिनिधि पाहुना दाजुभाइ लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै मन्दिर निर्माण तथा अन्य व्यवस्थापनको लागि सहयोग गर्ने स्थानिय रेशम गिरी, भुपाल गिरी, प्रेम गिरी, पिताम्बर गिरी, बिष्णु गिरी,बसन्तराज गिरी, देबेन्द्र गिरीले क्रमश ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५,५ हजार सहयोग गर्नुभएकोले उहाँहरुलाई सम्मान गरिएको छ । पुजाआरधना सकेर प्रसाद ग्रहण गरेपछि स्थानीय मिलेर मन्दिरमा भैलो खेल्ने नाच्ने समेत गरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय