प्यूठान । प्यूठानको गौमुखीमा महिला हिंसा, बालविवाह न्यूनिकरण र लागुऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना र गौमुखी गाउँपालिकाको समन्वयमा गौमुखी गाउँपालिका-३ रजवारामा सो सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले पछिल्लो समय गाउँ समाजमा अन्धविश्वास, गरिबी र अशिक्षाको कारण विभिन्न हिंसाका घटनाहरु हुने गरेको भन्दै यी र यस्ता घटना न्यूनीकरण गर्न समुदाय र सबैपक्ष सचेत भएर लाग्नुपर्ने बताउनुभयो । ग्रामिण भेगमा मदिरा सेवन, बेरोजगारी अशिक्षाको कारण हिंसाजन्य घटनाहरु बढ्दै गएको भन्दै न्यूनीकरण गर्न स्थानीय सरकार र नागरिकको भुमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । समुदाय स्तरमा हुने सबै खाले हिंसाका घटनामा कमि ल्याउन सबैको सहकार्य जरुरी छ । उहाँले भन्नुभयो, “त्यसको लागि हामि हातेमालो गरेर अगाडि बढ्न प्रतिबद्ध छौं ।”
पालिकाले हिंसाका घटना न्यूनीकरणको लागि थुप्रै अभियान चलाएपनी यस्ता घटनाको न्यूनीकरण गर्न नसकिएको गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर रानाले बताउनुभयो । समुदाय स्तरमा हुने यस्ता हिंसा जन्य घटनामा कमि ल्याउन स्वयं नागरिक घर घरबाट जागरुक भइ अभियान चलाउनुपर्ने बताउनुभयो ।
स्वयं नागरिक जागरुक नभएसम्म यस्ता घटनामा कमि ल्याउन नसकिने भन्दै समुदाय जागरुक र सचेत हुन समेत उहाँले आग्रह गर्नुभयो । अभियानलाई थप सशक्त बनाउदै समुदाय स्तरसम्म पुर्याउन सबैसँग हातेमालो गर्दै अगाडि बढ्न गाउँपालिका तयार ररेको उहाँले जानकारी दिनुभयो।
हिंसा पीडित र अन्यायमा परेका नागरिक अझैसम्म खुलेर आफ्नो समस्या सम्बन्धित निकाय सम्म आएर राख्न नसक्नुले पनि यस्ता घटनामा कमि ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरिक्षक दिपेश बस्याल बताउनुभयो । जनताले आफ्नो समस्या ढुक्कसँग राख्ने नभएसम्म समस्या निराकरणमा गर्न समस्या हुने बताउनुभयो । त्यसको लागि गाउँ गाउँमा नागरिक नै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
गौमुखी गाउँपालिका-३ का अध्यक्ष जंगबहादुर पूनको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा, अनुसन्धान अधिकृत सन्जित कुमार चौधरी, गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेल, वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, शिक्षकक, बिद्यार्थी र स्थानीय नागरिक लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।






S.K. Creative Media Group