सत्यराज सिंह, बझाङ । बझाङकाे जयपृथ्वी नगरपालिकाको टाउताेलामा रहेको नाननदेव आधारभूत विद्यालयका विद्यार्थीहरू भूकम्पले चर्किएको भवनमा पठनपाठन गर्न बाध्य भएका छन्। जिल्लाकाे जयपृथ्वी नगरपालिका-११, टाउतोला स्थित नाननदेव आधारभूत विद्यालयको भवन २०८० असोज १६ गते आएको भुकम्पले ठुलो क्षति पुर्याएको हो ।
भुकम्पले चर्किएको उक्त जिर्ण भवनबाटै विद्यार्थीहरूलाई पठनपाठन गराउन बाध्यता रहेको बिद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक बउकास शाहीका अनुसार ६३ जना विद्यार्थी रहेको यो विद्यालयमा भूकम्पका कारण चर्किएको भवनमा पठनपाठन गराउनुपर्ने बाध्यता छ। उहाँले स्थानीय सरकार र सम्बन्धित निकायलाई समस्या समाधानका लागि पटक-पटक जानकारी गराउँदा पनि कुनै ठोस पहल नभएको गुनासो गर्नुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र रोकायाले विद्यालय भवन पुनर्निर्माणका लागि वडा, नगरपालिका र प्रदेश सरकारसँग अनुरोध गरे पनि अहिलेसम्म कुनै पहल नभएको प्रतिक्रिया दिनुभयो। उहाँका अनुसार चर्किएको भवनमा पठनपाठन गर्दा विद्यार्थीहरू जोखिममा परेको छन् । विद्यार्थीले डर त्रासमै दैनिकी बिताउन बाध्य भएको जानकारी दिनुभयो ।
नाननदेव आधारभूत विद्यालयका कक्षा २ मा अध्ययनरत छात्र उत्सव रोकायाले भन्नुभयो, ´हामी डराउँदै पढिरहेका छौँ। विद्यालयको भवन भत्किएला भन्ने डरले ध्यान पढाइमा जाँदैन।` स्थानीय अभिभावकहरूले पनि विद्यालयको पुनर्निर्माणका लागि पहल गर्न सरकारसँग अपिल गरेका छन्। यस समस्याले विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको स्थानिय राम सार्कीले बताउनुभयो ।
वडाकाे बजेटले भवन निर्माण गर्न नसकिने भएकाले असार मसान्त सम्म मर्मत सम्हार गर्ने भनेर याेजना बनाएकाे जयपृथ्वी नगरपालिका-११का वडाअध्यक्ष सर्जन थापाले जानकारी दिनुभएको छ । विद्यार्थीलाई जिर्ण भवनमा पठनपाठन गराउदा मनोबैज्ञानिक असर परेको छ । उहाँले भन्नुभयो, ´निकासको लागि माथिल्लो सरकारलाई अनुरोध गरेका छौ। सरकारले गर्छौ भन्ने आश्वासन मात्र दिनुभएको छ ।`अहिलेसम्म पुनर्निर्माण गर्ने बजेट कतैबाट आएको छैन उहाँले भन्नुभयो ।




S.K. Creative Media Group