प्यूठान । जिल्लाको प्यूठान नगरपालिका-९ मजुवा स्थित दिपज्योती बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सम्पन्न भएको छ । प्यूठान नगरपालिका-९ का वडा अध्यक्ष बिकास केसीले साधारण सभाको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन गर्दै वडा अध्यक्ष केसीले सहकारीको माध्यमबाट नागरिक र सहकारी सदस्यहरुको जीवनस्तर सुधार हुनेखाले कार्यक्रम ल्याउनु पर्ने बताउनुभएको छ। साधारण सभाको प्रमुख अतिथी समेत रहनुभएका वडा अध्यक्ष केसीले मुलुकमा पछिल्लो समय सहकारी प्रति गलत धारणा भएकोले त्यसतर्फ सचेत हुँदै सहकारीको मर्म भावना अनुसार सदस्यहरुलाई सुसूचित गराउदै सहकारीको नीति र सिद्धान्त अनुसार काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले सहकारीलाई समयानुकूल प्रविधि मैत्री बनाउदै उस्तै उस्तै प्रकृतिका सहकारीलाई एकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो। सहकारी एकीकरणले सहकारीको दायरालाई फराकिलो हुँदै जाने र आयआर्जनका आयामहरु पहिचान गर्दै नागरिकको सेवामा पहुँचमा वृद्धि गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा बाल बिद्या माविका प्रधानाध्यापक केशव गिरीले गाउँगाउँमा छरिएर रहेको पूँजीलाई सहकारी मार्फत एकिकृत गरि सदस्यलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो । त्यसका लागी सहकारीलाई एकीकरण गर्दै लैजानुको विकल्प छैन। उहाँले सहकारीको मर्म अनुसार आर्थिक, सामाजिक र आयवृद्धिको कार्यक्रम ल्याउनका लागि सहकारी एकीकरण हुन जरुरी छ।” सहकारीका कतिपय आ-आफ्नै समस्या होलान् छन् पनि ती समस्यालाई साझा बिधिमा टेकेर हल गर्दै मर्जरको अवधारणामा लैजानुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ प्यूठानका सचिब बासुदेव गिरीले मुलुकमा सहकारीले विकास र समृद्धिको लागि महत्वपूर्ण योगदन रहेकोले यसलाई थप सबल र सक्षम बनाउदै लैजानुपर्ने बताउनुभयो। अहिले मुलुकको संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको खम्बा मानेको छ । सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको एउटा सबल स्तम्भका रूपमा लिईएको र सरकारले लिएको तीनखम्वे अर्थ नीति अनुसार सहकारीले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । सहकारीलाई सैद्धान्तिक रूपमा परिचालन गर्ने हो भने रोजगारी सिर्जना गरी गरिबी न्यूनिकरणमा अहम भूमिका खेल्न सक्ने बताउनुभयो । सहकारीले गरिबीको रेखामुनि रहेका जनताको आय र स्तरवृद्धिको लागि महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । जसले गर्दा समाजका बिपन्नवर्गको आर्थिक सामाजिक जिवनस्तरमा परिवर्तन ल्याउदै रोजगारी र स्वरोजगार सिर्जनामा सहयोग पुग्ने बताउनुभयो ।

प्युठान नगरपालिका वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष नेहर सिह केसीले नेपालमा सहकारीको भुमिका महत्त्वपूर्ण रहेकोले सहकारीको मूल्यमान्यता अनुसार व्यवस्थित गर्दै जानुपर्ने बताउनुभयो । सहकारीलाई नगरिकनको हितमा सदुपयोग गर्न सक्नेमात्र सदस्यको आर्थिक, सामाजिक विकासमा सहयोग पुग्ने बताउनुभयो।

त्यस्तै लेखा संयोजक रमेश गिरीले सहकारीका उप समिती नाम मात्रको भएकोले यसलाई थप व्यवस्थित गर्दै भुमिका र जिम्मेवारी दिएर अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो। समाजसेवी टिकाराम पौडेलले सहकारी सस्था संचालक सस्था प्रती पुर्ण जानकार हुनुपर्ने धारणा राख्नुभयो।

समाजसेवी टेकुलाल गिरीले वर्तमान अवस्थामा जनतामा सहकारीप्रतिको दृष्टिकोण नकारात्मक ढंगले विकास भइरहेको घटनाहरू बारे सचेत गराउँदै सहकारीको मूल मर्मप्रति प्रतिबद्ध भई काम गर्न मार्ग निर्देश गर्नुभएको थियो।

सहकारीको प्रभावकारी समयसमयमा अनुगमन, नियमन हुननसक्दा सहकारीको सुशासनको अभावका कारण बिश्वास घट्दै गएकोले सहकारीको साख जोगाउन सबैको सहकार्य जरुरी रहेको दिपज्योती बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य तथा समाजसेवी टिकाराम पौडेलले बताउनुभयो। सहकारीको लक्ष्य र उदेश्य अनुसार सफल कार्यान्वयनमा ध्यान दिन नेतृत्वलाई पत्रकार राम बहादुर बिश्वकर्मले सुझाव दिनुभयो ।

दिपज्योती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पुर्णलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको कोषाध्यक्ष माया गिरीले कुल चुक्ता पुँजी १ करोड २७ लाख ८३ हजार ८ सय १ रुपैयाँ ६१ पैसा रहेको संस्थाले १ करोड १२ लाख ८२ हजार २ सय ७५ करिब ३४ ऋण प्रबाह गरेको जानकारी दिनुभयो। त्यस्तै संस्थाका सचिब माधव गिरीले आव २०८०/०८१ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै संस्थाका सदस्य बिष्णु बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिब माधब गिरीले गर्नुभएको थियो ।छिमेकी सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

बाढी पिडितलाई न्यानो कपडा वितरण, बिपन्न जेहेन्दार विद्यार्थीलाई पुरस्कर 

साधारण सभाको अवसरमा बाढी पिडित न्यानो कपडा वितरण गरेको छ । प्युठान नगरपालिका वडा नम्बर ९स्थित बुढादेबिका लिलाबहादुर नेपालीलाई न्यानो कम्बल वितरण गरिएको हो। गएको वर्षाले आएकोबाढी पहिरोबाट बुढादेबी बजार क्षति पुगेको थियो। लिलाबहादुर सहित केही घरहरु खेतीयोग्य जमिन खोलामा आएको लेदोले पुरेको क्षति भएको थियो।

त्यस्तै बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई एक एक दर्जन स्टेशनरी दिइएको छ। बाल बिद्या माविमा अध्यनरत बिपन्न तथा जेहेन्दार  विद्यार्थी रामचन्द्र बिसी, प्रशना थापा, समुन्द्र सुनार र रुचिका भट्टराईलाई स्टेसनरी प्रदान गरिएको हो ।

यस्तै असल ऋणि र असल बचत कर्ता सम्मानित गरिएको छ। संस्थाबाट लिएको ऋण नियमित बुझाउदै असल कारोबार गरेको भन्दै संस्थाकी सदस्य सरस्वती गिरी, असल बचतकर्ता शान्ता जिसीलाई संस्थाले सम्मानित समेत गरेको हो। सम्मानित हुनेहरुलाई दुबैजनालाई दोशल्ला ओडाएर सम्मान गरिएको छ। संस्थाले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक प्रतिवेदन र प्रगति प्रतिबेदन सर्व सहमतले पास गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय