प्यूठान । प्यूठानको झिमरुक गाउँपालिका–६, चिसावाङमा आयोजित फूलबारी द्वादशी मेलामा शुक्रबार दर्शनार्थी तथा दर्शकको भीड लागेको छ। मेलामा परम्परागत सराय नाचदेखि सांगीतिक प्रस्तुतिसम्मका कार्यक्रमले रौनक थपेको थियो ।
मेलामा विशेषगरी नेवारी भेषभूषामा सजिएका महिलाको सराय नाच र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गित तथा नृत्य मेलाको मुख्य आकर्षण बनेको छ।
धार्मिक परम्पराअनुसार मौलो पूजा गरी तरबार हातमा लिएर बाजाको तालमा प्रस्तुत गरिएको सराय नाचमा जनप्रतिनिधि, ज्येष्ठ नागरिक, बालबालिका तथा स्थानीय महिला–पुरुषको सहभागिता रहेको थियो।
मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा विभिन्न सांस्कृतिक गतिविधिले समेत दर्शकको ध्यान खिचेको थियो।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए। कलाकारका गीतमा रमाउँदै स्थानीयले नाचगान गरेका थिए। मेलामा लिङ्गे पिङ खेल्ने तथा परिसरमा राखिएका स्थानीय बजारका स्टलबाट किनमेल गर्नेको समेत भिड लागेको थियो ।
फूलबारी दशैँ द्वादशी मेला तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष निकेश पोख्रेलका अनुसार मेलाको उद्घाटन झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले गर्नुभएको हो।
मेला उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले स्थानीय कला, संस्कृति र परम्परालाई जीवन्त राख्नुका साथै आपसी सद्भाव र सामाजिक एकता थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेलालाई आगामी वर्षहरूमा थप व्यवस्थित गर्दै लैजानुपर्ने बताउनुभयो । कला संस्कृतिको जगेर्ना गर्दै परम्परागत संस्कृति प्रबर्द्धन गर्न स्थानीय सरकारको तर्फबाट आफुले सक्दो भुमिका निर्वाह गर्ने बताउनुभयो
सामुदायिक एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवं आपसी भ्रातृत्व कायम गर्न यस्ता मेला महोत्सवको महत्वपूर्ण भुमिका रहेकोले यसको जगेर्ना र प्रबर्द्धन गर्नुपर्ने वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनले बताउनुभयो । उहाँले सामाजिक रुपमा एकताबद्ध नभएसम्म हामिले परिकल्पना गरेको समृद्ध समाज निर्माण गर्न नसकिने बताउनुभयो ।
चिरायु माविमा नवनिर्मित मञ्च उद्घाटन
यसैबीच, झिमरुक गाउँपालिका–६, चिसावाङस्थित चिरायु माध्यमिक विद्यालयको प्राङ्गणमा निर्माण गरिएको नवनिर्मित मञ्चको उद्घाटन गरिएको छ।
फूलबारी द्वादशी मेलाका प्रमुख अतिथिसमेत रहनुभएका गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले रिबन काटेर मञ्चको उद्घाटन गर्नुभएको हो। झिमरुक गाउँपालिकाको बजेटबाट निर्माण सम्पन्न भएको मञ्चले विद्यालयका विभिन्न कार्यक्रम सञ्चालन गर्न तथा स्थानीयस्तरका गतिविधि व्यवस्थापन गर्न सहज हुने पालिकाले अपेक्षा लिएको छ।
अध्यक्ष एमसीका अनुसार निर्माणाधीन बाग्दुला-मच्छी सडकमा स्तरोन्नतिको काम भैरहेको छ । अबको पौने दुई वर्ष भित्रमा यो सडकमा पिचको काम सम्पन्न हुने बताउनुभयो ।
सडक पिचको काम सम्पन्न भएपछि माथिल्लो क्षेत्रमा यातायातको सहज पहुँच विस्तार हुनुका साथै पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधिमा वृद्धि तथा पालिकाको समग्र विकासमा समेत यसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रमको अवसरमा उहाँले मुख्य सडक सहित पुल, खानेपानी, सिंचाइ, खेलमैदान, बिद्यालय, स्वास्थ्य भवन लगायतमा काम भैरहेको बताउनुभयो ।
फूलबारी दशैँ द्वादशी मेला तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष निकेश पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यामलाल पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो। पहिलो चरणको कार्यक्रम विनोद पोख्रेल र दोस्रो चरणको सांस्कृतिक कार्यक्रम पत्रकार बोमबहादुर परियारले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा मेला व्यवस्थापनको लागि सहयोग गर्ने सहयोगदाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने, कलाकार र कार्यक्रम सहजीकरण गर्नेलाई मायाको चिनो प्रदान गरिएको थियो ।






S.K. Creative Media Group