
प्यूठान । जिल्लाको झिमरुकमा कृषि तथा पशुपंक्षि बिमा सम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार कृषकलाई कृषि तथा पशुपंक्षि बिमा गर्न अभिप्रेरित गर्ने उदेश्यले वडा अध्यक्ष, जनप्रतिनिधि विभिन्न शाखाका शाखा प्रमुख, कृषि तथा पशुपंक्षि शाखाका सम्पुर्ण कर्मचारी लगायतलाई एक दिने कृषि तथा पशुपंक्षि बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
झिमरुकका सम्पुर्ण किसानलाई कृषि तथा पशु पन्क्षी बिमाको पहुँचमा ल्याउदै विभिन्न रोग तथा अन्य दैवीप्रकोपबाट हुने क्षती र नोक्सानीलाई न्यूनीकरण गर्ने उदेश्यले यो कार्यक्रमलाई अभियानको रुपमा लैजान लागिएको गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।
बिमामा वार्षिकरुपमा कृषकले बुझाउन पर्ने बिमा रकमको करिब ५० प्रतिशत रकम गाउँपालिकाले ब्यहोर्ने ब्यवस्थाको सुरुवात यसै आर्थिक वर्षदेखि सुरु गरिएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो । उहाँका अनुसार किसानलाई बिमाको दायरामा ल्याउने उदेश्यले पालिकाले यसवर्षदेखि नीति तथा कार्यक्रममा समेत समाबेश गरेको छ।
बिमा पोलिसिले किसानलाई भुक्तानी लिने प्रक्रियामा अलि झन्झटिलो बनाएकोले समस्या भएको गुनासो किसानबाट आएको उपाध्यक्ष पोख्रेलले बताउनुभयो। त्यसलाई सजिलो बनाउनुपर्छ । अधिकतम किसानलाई बिमाको पहुँचमा जोड्ने लक्ष पालिकाले लिएको छ । उहाँले भन्नुभयो, “किसानलाई सर्वसुलभ र सहज तरिकाले भुक्तानी पाउने बाताबरण सृजना बिमा कम्पनीले गर्नुपर्छ ।”
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाले धेरै भन्दा धेरै पालिकाभरका किसानलाई बिमा कार्यक्रममा आवद्ध हुँदै लाभ लिन आग्रह गर्नुभयो । कार्यक्रमलाई किसाकको घरदैलोमा पुर्याउन यो अभिमुखिकरण कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो । कम्तिमा पनि बिमा कम्पनीले किसानलाई झन्झट रहित बनाउन पोलिसी लेभलमा सहयोग गर्न आग्रह गर्नुभयो ।
कृषीमा उत्पादन र लागतमा आधारित बिमा गर्ने गरिएको नेसनल इन्स्योरेन्स कम्पनीका प्रतिनिधि दिपक आचार्यले जानकारी दिनुभयो । प्राविधिकको सिफारिसको आधारमा क्षतिको मुल्यांकन गरि सोही अनुसार किसामले आफ्नो बिमा रकम पाउन सक्ने बताउनुभयो । कृषिको लागि किसानले कम्तिमा ३ रोपनी जग्गामा व्यवसायीक रुपमा खेती गरेको किसानलाई बिमाको दायरामा ल्याउन सकिने आचार्यले बताउनुभयो । उहाँका अनुसार पशुको लागि भने प्रत्येक पशुलाई बिमा कार्यक्रममा जोडिन मिल्ने आचार्यले बताउनुभयो ।
कृषि तथा पशुपंक्षि शाखाको आयोजनामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष प्रमोद पोख्रेलको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यतामा रहेको थियो। अभिमुखीकरण कार्यक्रमको सहजीकरण नेसनल इन्स्योरेन्स कम्पनी प्रतिनिधि दिपक आचार्यले, कृषि शाखा प्रमुख टेक बहादुर बिक र कृषी प्राविधिक कृष्ण बहादुर बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको संचालन कृषि अधिकृत तृसना जिसीले गर्नुभएको थियो।