अर्घाखाँची । अर्घाखाँचीको मालरानी गाउँपालिका-४ खनदहमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् । आज बिहान मालारानी–३ लुटीपोखरीबाट मालारानी–४ खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सवारी जीप जिल्लाको मालारानी गाउँपालिका-३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह अन्तर्गत पर्ने भित्री सडकखण्डमा जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा चालक मालारानी-४ का २२ वर्षीय दिलिप खनाल र मालारानी–४ कै २१ वर्षीय बालकृष्ण रिजाल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सडकदेखि झन्डै २ सय ५० मिटर तल खस्दा गाडीमा सबार ४ जना मध्ये दुईजनाको मृत्यु भएको प्रहरीको भनाइ छ। उपचारको क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य दुईजना घाइतेलाई उपचारका लागि बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताउनुभयो । दुर्घटना भएको जानकारी पाए लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।



S.K. Creative Media Group