काठमाडौं । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरेको छ । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हड्ताल घोषणा गरेको हो ।

देशभरका सबै विद्यालय बन्द गरेर काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन महासंघले आह्वान गरेको छ । यो अवधिमा एसईईका उत्तर पुस्तिका समेत परीक्षण नहुने भएकाले नतिजा प्रकाशनमा समेत असर पर्नेछ । कुनै शैक्षिक भ्रमण, सेमिनार, तालिम, समेत नगर्न अनुरोध गरेको छ । पठनपाठन, उत्तर पुस्तिका परीक्षण र नतिजा प्रकाशन लगायत सबै काम रोक्न महासंघले आह्वान गरेको छ ।

विभिन्न पेसागत माग राखेर ५ दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकलाई सरकारले दुई पटक वार्ताको आह्वान गरे पनि नेपाल शिक्षक महासङ्घले बेवास्ता गरेको छ । विगतमा वार्ता गरेर सरकारसँग सहमति गरेको भए पनि कार्यान्वयन नभएकाले यस पटक फेरि अर्को सहमति गर्नुको कुनै अर्थ नभएको भन्दै शिक्षकले अस्वीकार गरेका हुन् । २०८० असोजमा पनि राजधानीकेन्द्रित आन्दोलन गरेका शिक्षकले सरकारसँग सहमति गरेर आन्दोलन टुङ्ग्याएका थिए ।

सहमति अनुसार शिक्षा ऐन नल्याएको भन्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा यस पटक पनि मुलुकभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी चैत २० गतेदेखि बानेश्वर माइतीघर क्षेत्रमा जम्मा भएर आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय