
सत्यराज सिंह, बझाङ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बझाङमा सञ्चालनमा रहेका सवारी साधनहरूमा रिप्लेक्टिभ स्टिकर टाँस गरिएको छ। विशेषगरी रातको समयमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले यस्तो अभियान थालेको हो।
ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टका अनुसार रातिको समयमा सवारी साधनहरू प्रष्ट देखिन नसक्ने अवस्था हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले स्टिकर टाँस्ने कामलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, ´रातमा टल्किने रिफ्लेक्टिभ स्टिकरले सवारी साधनहरू सजिलै चिनिन सक्ने भएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरेका छौं ।`
उहाँका अनुसार यो अभियान अन्तर्गत जिल्लाभरका मोटरसाइकल, अटाे, जिप, बस र ट्याक्टर लगायत ३७ वटा सवारी साधनमा आज स्टिकर टाँस गरिएको छ। ट्राफिक प्रहरीको टोलीले सक्रिय रूपमा विभिन्न स्थानमा पुगेर स्टिकर टाँस्ने कामलाई अगाडि बढाइरहेको छ। स्थानिय बासिन्दाहरू र सवारी चालकहरूले समेत ट्राफिक प्रहरीको यो कदमको स्वागत गरेका छन्।