तातोपानी । छिमेकी मुलुक चीनबाट पहिलो पटक रेल र सडकमार्ग हुँदै कन्टेनराइज्ड कार्गो (सामान) चोभारमा सुक्खा बन्दरगाहमा आएको छ । यसअघि तातोपानी र रसुवा भन्सारमार्फत भन्सार जाँचपासको लागि मालवाहक सवारीसाधन चोभार सुक्खा बन्दरगाह आउने गरेको थियो।
गत चैत अन्तिम सातादेखि चीनको इयु सहरबाट सिधै रेलमार्ग र सडकमार्ग प्रयोग गरी चार वटा ४० फिटे कन्टेनर चोभार सुक्खा बन्दरगाह आइपुगेका इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । नेपाली कम्पनीहरू पिएनपी इन्टरप्राइजेज, अम्बर एन्ड सन्स इन्टरप्राइजेज, ओमकार इन्टरनेसनल ट्रेडर्स र साहिम्स ट्रेडर्सले आयात गरेको कस्मेटिक, रोल कपडा, पर्दा, स्पिकर लगायतका सामान बोकेको साउथ एसिया रेल्वेको चारवटा कन्टेनर पहिलो पटक भन्सार जाँचपासका लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको हो । उक्त कन्टेनरलाई चीनको इयुबाट चोभार सुक्खा बन्दरगाहसम्म आइपुग्न २० दिनको समय लागेको स्रोतले जनाएको छ ।
सरकारले चीनबाट पनि सिधै सामान कन्टेनरमा चोभार सुक्खा बन्दरगाहसम्म ल्याउने कानुनी व्यवस्था गरेपछि पहिलो पटक चीनको रेल र सडकमार्ग प्रयोग भएर कन्टेनरमा सामान चोभार सुक्खा बन्दरगाह आएको हो । अर्थ मन्त्रालयले २०८१ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्ताका लागि सडकमार्ग तोकेको छ ।

सोही अनुसार उक्त कन्टेनर तातोपानी र रसुवा भन्सारबाट चोभार सुक्खा बन्दरगाह जाने अनुमति लिएर आएको हो । भारतीय नाका वीरगन्जबाट सुक्खा बन्दरगाह सञ्चालन सुरु भएको दिनदेखि नै भन्सार जाँचपासका लागि आउने गरेको थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चीनसँग सामान आयातनिर्यातका लागि नयाँ ढोका खुलेको र चीनबाट आयात हुने वस्तु सिधै चोभार ल्याउन सहज हुने उहाँको भनाइ छ । स्रोत: गोरखापत्र अनलाइन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय