
पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन कृषि र वनलाई उद्यमशिलतामा जोड्नुपर्ने बताउनु भएको छ ।
पाल्पा जिल्लाको निस्दी गाउँपालिकामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उद्यमशिलताको माध्यमबाट ग्रामीण क्षेत्रको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनु भएको हाे ।
`यहाँको पहाडी बस्ती, वनजंगल, व्यवसायिक बाख्रापालन, अर्गानिक तरकारी खेतीका लागि उर्वर भूमि छ । वनमा अम्रिसो खेतीबाट पनि आम्दानी बढाउन सकिएको उदाहरण पाएका छौं´ मुख्यमन्त्री आचार्यले भन्नुभयाे`यी र यस्तै स्थानीय उत्पादनबाट हाम्रो अर्थतन्त्र बलियो हुन सक्छ, हामी आत्मनिर्भर बन्न सक्छौं ।´
प्रदेश सरकारले स्थानीय उत्पादन बढाउनका लागि साझेदारी गर्न मिल्ने खालको नीति निर्माण गरेर अगाडि बढेको समेत बताउनु भयाे ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति सरकारको रहेको र उद्यमशिलताको माध्यमबाट आर्थिक सशक्तीकरण गर्न सकिनेमा उहाँले जोड दिनुभयाे ।
`यस ठाउँका महिला दिदीबहिनीहरूले अम्रिसोको खेती गरेर कुचो बनाएर बिक्री वितरण गरी आम्दानी गरिरहेको मैले थाहा पाएको छु´ मुख्यमन्त्री आचार्यले भन्नुभयाे`यो कार्यका लागि महिला दिदीबहिनीहरूलाई प्रदेश सरकारको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।´
यस्तै, मुख्यमन्त्री आचार्यले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनमा ल्याइएको, नियमावली निर्माण गरेर लामो समयदेखि रोकिएको बृत्तिविकास तथा बढुवाको ढोका खोलिएको बताउनु भयाे ।
कर्मचारीहरूलाई जनसेवाको काममा `भोलि´ भनेर नबोल्न आग्रह गर्दै उहाँले भन्नुभयाे`सरकारी सेवा लिन दिनभरिको बाटो हिँड्नुपर्ने स्थानहरू पनि भएकाले सेवा दिँदा कर्मचारीहरूले ‘भोलि’ भनेर नभन्नुहोस् । समयमै सेवा प्रवाह गर्नुहोस् ।´
प्रदेश सरकारले कर्मचारीलाई न्याय दिलाउन कुनै कञ्जुस्याइ नगरेको र भविष्यमा पनि नगर्ने बताउनु भयाे ।