प्यूठान । राष्ट्रिय स्वतन्त्र पार्टी प्यूठानबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुशान्त वैदिकले आफ्नो १४ बुँदे बाचापत्र सार्वजनिक गर्नुभएको छ । आईतबार जुम्रीमा आयोजित पत्रकार भेटघाटमा बैदिकले राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रसँगै प्यूठान जिल्लाका लागि तय गरिएको १४ बुँदे वाचा सार्वजनिक गर्नुभएको हो ।
वाचापत्रमा सम्पूर्ण घरमा खानेपानीको सुविधाको सुनिश्चितता, सुविधा सम्पन्न जिल्ला अस्पताल, प्राविधिक उच्च शिक्षाको विस्तार, रोजगार र स्वरोजगारको अधिकतम अवसर सृजना, कृषि क्लष्टरमा आधारित एकिकृत विकासको विषय समेटिएको छ ।
त्यसैगरि सिंचाई पुर्वाधार पहिचान र विकास, जडिवुटी, नगदेवाली र लघु उद्योग प्रर्वद्धन, वैज्ञानिक भू–सुधार तथा व्यवस्थित बसोबास, लुम्बिनी धार्मिक–पर्यटकीय त्रिकोणको अवधारणा, प्राकृतिक तथा साहसिक पर्यटन प्रर्वद्धनको विषय समेटिएको छ ।
वाचापत्रमा समानुपातिक विकास पुर्वाधार, विश्वसनिय टेलिफोन र डाटा नेटवर्क पहुँच, खेलकुद विकास र प्रशिक्षण पुर्वाधार र बाँदर र बदेल लगायत वन्यजन्तु आतंक रोकथामको विषय समेटिएको छ ।
पत्रकार भेटघाटमा उम्मेदवार बैदिकले आफू अर्थशास्त्री भएकोले नीतिगत सुधारका लागि उल्लेख्य काम गर्न सक्ने दावी गर्नुभयो । आफ्नो पहिलो भूमिका संसदमा ऐन कानुन निर्माण तथा परिमार्जन गर्नमा हुने बताउँदै समग्र विकासको लागि समेत योजना बनाउन सक्ने बताउनुभयो ।





S.K. Creative Media Group