प्यूठान । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई प्यूठानले चालु आर्थिक वर्षमा ९१ प्रतिशत वित्तिय प्रगति हासिल गरेको जनाएको छ । मंगलबार कार्यालयले आयोजना गरेको चालु आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी आर्थिक वर्षको कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा कार्यालयले उक्त प्रगति प्रस्तुत गरेको हो ।

कार्यालयका कृषि अधिकृत जयन्ता मल्लले प्रस्तुत गर्नुभएको प्रस्तुतिकरण अनुसार ५ करोड ६ लाख रुपियाँ बजेटमध्ये कार्यालयले ४ करोड ६३ लाख ४९ हजार रुपियाँ खर्च गरेको हो । कार्यक्रम अन्र्तगत जिल्लामा धान जोन, तरकारी जोन र अदुवा बेसार जोन सञ्चालनमा रहेको कृषि अधिकृत मल्लले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षका लागि कार्यालयमा ३ करोड ८१ लाख ७७ हजार रुपियाँ बजेट प्राप्त भएको कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो । उक्त कार्यक्रमहरुमध्ये कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँको भनाई छ । जसका लागि १ करोड ८ लाख रुपियाँ बजेट प्राप्त भएको छ । साउन पहिलो साता नै किसानहरुलाई कार्यक्रमको बारेमा सूचना प्रकाशन गरि जानकारी गराउने कार्यालयको योजना रहेको कार्यालय प्रमुख गिरीले बताउनुभयो ।

कार्यालयले नियमित रुपमा कार्यक्रम कार्यान्वयन गर्न चौमासिक रुपमा समीक्षा कार्यक्रम गर्दै आएको छ । स्थानीय तहका कृषि शाखाका प्राविधिकहरुसँग नियमित रुपमा समीक्षा गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा दोहोरोपन हुन नदिन र प्रभावकारी कार्यान्वनयका लागि तीनै तहका निकायहरुबीच समन्वय गर्दै आएको उहाँको भनाई छ ।

समीक्षा कार्यक्रममा जिल्लाका स्थानीय तहका कृषि तथा पशु विकास शाखा प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्का, पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले कार्यक्रमले जिल्लामा प्राप्त गरेको उपलब्धीको प्रंसशा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय