गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट तल खस्दा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब ११ः३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडक छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भएर करिब ४० मिटर तल खसेको हो ।
दुर्घटनामा ट्याक्सी चालक सिरानचोक गाउँपालिका–५ भाँगे निवासी ४० वर्षीय वीरबहादुर गुरुङ सामान्य घाइते भएका छन् । त्यस्तै, ट्याक्सीमा सवार सिरानचोक–२ मैपते निवासी ३२ वर्षीया मञ्जु परियार र अन्दाजी ५० वर्षीया गीतामाया परियार गम्भीर घाइते भएका छन् ।
त्यसैगरी, २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार मध्यम घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय