झापा । झापामा आगलागीमा परेर एक बृद्धको ज्यान गएको छ भने एकजना घाइते भएका छन् । अर्जुनधारा नगरपालिका–१० मा आफ्नै घरमा राति भएको आगलागीमा परेर ७३ वर्षीया दिलकुमारी राईको मृत्यु भएको छ ।
शुक्रबार राति दिलकुमारी राई दम्पती बसोबास गर्दै आएको कच्ची टाटी बेरा र टिनको छानो भएको घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका जानकारी दिनुभयो ।
गएको राति ८ बजेतिर आगलागी हुँदा वृद्धा दम्पती घरभित्रै थिए । आगलागीमा परी वृद्धा राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका पति ७५ वर्षीय शिवकुमार राई गम्भीर घाइते भएको रिजालले जानकारी दिनुभयो ।
आगलागीको खबर पाएलगत्तै सालबारी अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुग्दा वृद्धाको मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेलाई उपचारका लागि शनिश्चरेस्थित अर्जुनधारा नगर अस्पतालमा भर्ना गरिएको छ । आगलागीका कारण थाहा हुन सकेको छैन । आगलागी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।