सुजल श्रेष्ठ
प्युठान । नौबहिनी गाउँपालिका–८ फोप्लीमा घरमा हुने सुत्केरी रोक्नका लागि प्रयास थालिएको छ । गर्भवती महिलालाई घरभेट गरेर सुत्केरी हुनका लागि स्वास्थ्य संस्था पुर्याउन आग्रह गरिएको छ ।
घरमा हुने सुत्केरीलाई रोक्नका लागि गर्भवती महिलासँग घरभेट कार्यक्रम थालिएको फोप्ली स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले बताउनुभयो । “घरमा प्रसुती नहोस् भन्ने उदेश्यले यो अभियान थालिएको हो,” उहाँले भन्नुभयो, “भेटेर स्वास्थ्य सम्वन्धी सेवा सुविधा, गर्भावस्थामा हुनसक्ने जटिलताबारे भन्ने गरेका छौं ।”
आईतबार वडा अध्यक्ष मान बहादुर केसी सहितको टोली कुर्झेनीको उखुबारीमा पुगेर गर्भवती महिला सहित स्वास्थ्य आमा समुहका सदस्यहरुबीच अन्र्तक्रिया गरिएको स्वास्थ्य चौकी प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
गर्भवतीलाई स्वास्थ्य चौकी पुर्याउन महिला समुह
गाउँमा कसैलाई प्रसुती व्यथा लागेमा स्वास्थ्य चौकीसम्म पुग्न एम्बुलेन्स पाइदैन । गर्भवतीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन गाउँमा युवा छैनन् । समयमै स्वास्थ्य चौकी पुर्याउन नसक्दा कोही घरमै त कोही बाटोमै सुत्केरी हुन्छन् । कतिपय आमा र बच्चाको ज्यानै पनि जान्छ । गाउँमै स्वास्थ्य चौकी भएपनि विविध कारणले गर्भवती महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्था पुग्न अप्ठ्यारो छ ।
यो समस्यालाई समाधान गर्न स्वास्थ्य चौकी आफैले अर्को एउटा पहल समेत थालेको छ । स्वास्थ्य चौकीको सेवा क्षेत्रभित्र रहेका टोलमा गर्भवती महिलाको उद्धारका लागि समिति गठन थालेको छ । वडाका २८ वटा टोलमा महिलाहरुकै समुह गठन गरिएको फोप्ली स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले बताउनुभयो । एउटा समुहमा ६ जना महिला रहेका छन् ।
फोप्ली स्वास्थ्य चौकीमा गतवर्ष ४८ जना स्वास्थ्य संस्थामा र १३ जना घरमा सुत्केरी भएका थिए । “अघिल्लो वर्ष बाटोमै सुत्केरी हुँदा बच्चाको ज्यान गयो,” स्वास्थ्य प्रमुख घिमिरेले भन्नुभयो,“त्यसैले हामी कसरी गभवतीलाई स्वास्थ्य संस्थासम्म ल्याउने भन्ने अभियानमा लागेका छौं ।” त्यसका लागि महिला स्वास्थ्य स्वयंसेविका, आमा समुहलाई समेत परिचालन गरिएको छ ।
यो अभियानले घरमै सुत्केरी हुनेको संख्या घटाउन सहयोग पुग्ने घिमिरेको अपेक्षा छ । चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म घरमा सुत्केरी हुनेको संख्या शुन्य रहेको छ । समुहले काम गरेको हुँदा अहिलेसम्म शुन्य भएको स्वास्थ्य चौकी प्रमुख घिमिरेको भनाई छ ।