धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गर्ने घोषणा गरेको छ ।
नेपाललाई टी-२० विश्वकपमा पुगाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई प्रदेश सरकारले पाँच/पाँच लाख दरले पुरस्कार प्रदान गर्ने घोषणा गरेका मुख्यमन्त्री कमलबहादुर शाहले बताउनुभयो ।
मुख्यमन्त्री शाह अनुसार कि्रकेटर ऐरीलाई भने एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएको भन्दै थप एक लाख रुपैयाँ प्रदान गरिने बताउनुभयो ।
प्रदेश सरकारले दोस्रो किसान सहकारी लम्की जेसीज क्रिकेट कप २०८० को समापन समारोह गर्दै तीनजना खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गर्दै राशिसमेत तोकेको छ ।
नेपालले कार्तिक १७ गते मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो । नेपालले सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्दैछ । प्रदेश सरकारले यसअघि पनि यहाँबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई पुरस्कार प्रदान र सम्मान गर्दै आइरहेको छ ।