
प्युठान । भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
नेपालीको महान दोस्रो ठुलो चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व हिन्दु परम्परा अनुसार खुशी साटासाट गरेर मनाइदै छ । यमपञ्चकको रुपमा मानिने तिहारको आज पाँचौं दिन हो । यस दिनलाई भाइटिका भनिन्छ ।
नेपाली समाजमा कार्तिक शुक्ल द्वितीयामा दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै हिन्दु परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर धुमधामका साथ मनाइने चलन रहेको छ।
आज भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् देवमणी भट्टराईले बताउनुभयो । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । सनातन धर्मकर्ममा सामान्यतय पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता छ।
आज दिनभर टीका लगाउन सकिने पञ्चाङ्ग निर्णायक विकास समितिका जनाएको छ । तर साइत खोज्नेका लागि बिहान १०:५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आज दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने मान्यता रहेको छ।
टीका लगाएपछि दिदीबहिनीले विभिन्न परिकारका रोटी, मिठाइ, फलफूल, मसला आदि सगुन दिने गरिन्छ भने दाजुभाइले पनि आफ्नो गच्छे अनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ।
पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि उल्लेख छ। दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ ।
दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने र ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन्।