सुजल श्रेष्ठ
प्यूठान । संस्कृत विषय पढ्न देशका विभिन्न ठाउँबाट विद्यार्थी स्वर्गद्वारी आश्रम आउने गरेका छन् । आश्रममा नियमित रुपमा सञ्चालनमा रहेको वेद विद्यालय गुरुकुलम पाठशालामा देशका विभिन्न ठाउँबाट विद्यार्थी आएर पढ्ने गरेका हुन । वि.सं. १९५२ सालदेखि सञ्चालन भएको पाठशालामा पछिल्लो समय देशका विभिन्न ठाउँबाट बालबालिका संस्कृत पढ्न आउनेक्रम बढ्दै गएको छ ।

कक्षा चार देखि १२ सम्म अध्ययन हुने पाठशालामा एक सय १७ जना विद्यार्थी रहेका छन् । देशका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु आउनेक्रम बढेको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताउनुभयो । “जिल्ला भित्रका विद्यार्थी अत्यन्तै कम छन्,” उहाँले भन्नुभयो,“धेरै जसो जिल्ला बाहिरबाट पढ्न आएका छन् ।” पाठशालामा अनिवार्य विषयसँगै संस्कृति व्याकरण, संस्कृति साहित्य, वेद, कर्मकाण्ड पढाउने गरिन्छ । आश्रममा हवन गर्ने, पुँजा आजा र कर्मकाण्डका सवै प्रक्रियामा पाठशालाका विद्यार्थी सहभागी हुन्छन् ।

पाठशालाका लागि प्रावि तहमा दुई जना राहत कोटाको व्यवस्था भएको छ । स्वर्गद्वारी नगरपालिकाले एक जना अनुदान शिक्षक, एक जना लेखापाल र दुई जना कार्यालय सहयोगीको व्यवस्था गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रेम जिसीले बताउनुभयो । बाँकी व्यवस्थापन आश्रमले गर्दै आएको छ । आवासिय रुपमा पठनपाठन हुने हुँदा विद्यार्थीहरुलाई पढाई सँगै व्यवहारिक ज्ञान सिक्न समेत सहज रहेको छ ।

स्वर्गद्वारी पाठशालामा दश कक्षासम्म पढेर विद्यार्थीहरु थप उच्च शिक्षा लिन दाङ र काठमाण्डौ जाने गर्दछन् । यसअघि दश कक्षासम्म मात्र अध्ययन हुने गरेकोमा दुई वर्षदेखी १२ कक्षा थप गरिएको आश्रमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर