प्युठान । तिहारको भोलिपल्ट अर्थात आज जिल्लाकै ठूलो सराएँ मेला लाग्दैछ । प्युठान नगरपालिका–७ डल्लेमा आज सराएँ नाच सहित मेला लाग्ने गर्दछ ।
उक्त सराएँ मेलामा सराएँ नाँचको प्रर्दशन, प्रतिस्पर्धा समेत गराउने चलन छ । किम्वदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला एक जना राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयाली सहित त्यस ठाउँमा वर्षेनी भाइटिकाको भोलिपल्ट सराएँ मेला लाग्ने गर्दछ ।
नांगो तरवार, लाठी नचाउँदै विभिन्न ठाउँबाट प्रतिस्पर्धी समुह जम्मा हुने गर्दछन् । पहिले पहिले पुरुषले मात्र सराएँ नचाउने गरेकोमा अहिले महिलाले समेत सराए नचाउन थालेका छन् । बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै….’ सराएँ नचाउने गरिएको स्थानीय सुशील पोख्रेलले बताउनुभयो ।
मेलामा रमाईलोका लागि विभिन्न स्थानीय नाँच, स्थानीय किसान, उद्यमीले उत्पादन गरेका बस्तुहरुको किनबेच समेत हुने गर्दछ । मेलामा जिल्लाभरबाट र बाहिरी जिल्लाबाट समेत मानिसहरु आउने गर्दछन् । मेलालाई व्यवस्थापन गर्न अहिले स्थानीय सरकारले समेत बजेट छुट्याउने र व्यवस्थापन गर्ने काम गर्न थालेका छन् ।
तिहारको भोलिपल्टदेखि शुरु भएको मेला पूर्णिमा सम्म (करिव १५ दिनसम्म) चल्ने गर्दछ । जहाँ स–साना बालबालिकादेखि बृद्धबृद्धासम्म पुग्ने गर्दछन् । पछिल्लो समय मेलालाई व्यवस्थापन सहित पुरस्कार प्रदान गर्न स्थानीय तहले सहयोग गर्ने गरेका छन् ।