प्यूठान । प्रतिनिधि सभा सदस्य सूर्य थापाले देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर संसदको अर्थ समितिले काम गरिरहेको बताउनुभएको छ । अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा रहेको बताउँदै उहाँले अर्थतन्त्रलाई सुधार गर्ने उपायका विषयमा निरन्तर छलफल भइरहेको बताउनुभएको हो ।
प्यूठान उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभाको प्रमुख अतिथी थापाले बैंकको व्याजदर स्थिर बनाउने विषयमा छलफल भइरहेको बताउनुभयो । “नीजि क्षेत्रले अहिले सास फेर्न पाएको छैन,” उहाँले भन्नुभयो, “सास फेर्न पाउने कसरी बनाउन सकिन्छ भनेर हामी त्यसमा लागेका छौं, लाग्छौं ।” नीजि क्षेत्र र संसद, नीजि क्षेत्र र सरकार एक भएर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।
सांसद थापाले जिल्लाका नौ वटै स्थानीय तहको बजार केन्द्रमा सडक बत्ति जडानका लागि प्रक्रिया अघि बढेको बताउनुभयो । उहाँले जिल्लाको विकासका लागि विभिन्न निकायमा पहल गर्दै आएको उहाँको भनाई छ । उहाँले जिल्लाको पर्यटन प्रर्वद्धनलाई अघि बढाउन सकिने भन्दै त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
नयाँ गठबन्धनको प्रशंग जोड्दै सांसद थापाले जनताले सूर्य थापा किन मन्त्री बनेनन भन्ने प्रश्न गर्ने गरेको भन्दै पार्टीले बनाएको मापदण्ड अनुसार नयाँ सरकारमा मन्त्री छनौट गरिएको बताउनुभयो । “पार्टीले दुईचोटी चुनाव जितेकालाई मन्त्री बनाउने मापदण्ड बनाएको छ,” उहाँले भन्नुभयो, मैले त दुईचोटी जितेको छैन, दायित्व तपाईकै काँधमा थपिएको छ, अव दुई चोटी जितेपछि मेरो दाबेदारी पुग्ने भयो ।” अहिले मन्त्री भएकाहरु दुई चोटी चुनाव जितेका साँसदहरु भएको उहाँले प्रष्ट पार्नुभयो ।