काठमाडौं । सत्तारुढ नेकपा एमालेले इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले बझाङको प्रदेश सभा १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिङ्गो पार्टी शक्ति नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन लाग्ने र अरू पार्टीलाई पनि एमालेका उम्मेदवारको पक्षमा सहयोग, समर्थन र सद्भावका लागि अपिल गर्ने निर्णय बैठकले गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले देशको राष्ट्रिय हितको रक्षा र संवर्द्धनमा केन्द्रित भएर लाग्ने ठोस सङ्कल्प गरेको ज्ञवालीले बताउनुभयो । सरकार पनि त्यही हिसाबले कामलाई अझ बढी चुस्त, समस्या केन्द्रित र जनतामा आशा, भरोसा जगाउने गरी अघि बढोस् भन्ने शुभकामना बैठकले दिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा एमालेको अहिलेको एक मात्र अर्जुनदृष्टि, सुशासनको प्रवर्धन, विकास निर्माण र समृद्धिको यात्रालाई तीव्रता दिएर जनतामा आशा र भरोसा जगाउने भएको उहाँले बताउनुभयो । यति बेला एमालेका निम्ति राज्यका कुने पनि निकाय पद महत्वका विषय नभएको उहाँले प्रष्ट पार्नुभयो । ‘हाम्रा निम्ति अरू सबै कुरा तपसिलका मात्रै हुन्’, उहाँले भन्नुभयो ।

नेकपा एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय