प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री महरालाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

प्रदेश प्रमुख शेरचनले नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शुक्रबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नवनियुक्त मन्त्रीले प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नयाँ मन्त्रिपरिषदमा नेकपा (एमाले) बाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीन जना मन्त्री नियुक्त हुनुभएको हो।

नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री हुनुभएको छ ।

तीनै जना मन्त्रीलाई बिना विभागीय मन्त्रीको रूपमा शपथ गराइएको छ । मुख्यमन्त्री महराले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रालय विस्तारसहित मन्त्रालयको टुङ्गो लाग्ने छ ।

यसैबीच, गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ । केन्द्रमा गठबन्धन परिवर्तन भएपछि प्रदेशको दोस्रो कार्यकालमा अधिकारी दोस्रो पटक मुख्यमन्त्री बन्नुभएको हो ।

आफूले शपथ लिएलगत्तै उहाँले माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे)लाई मन्त्री नियुक्त गर्नुभएको छ । दुवै मन्त्री अहिले बिना विभागीय हुनुहुन्छ ।

यसअघि प्रदेश प्रमुख भट्टले आइतबार दिउँसो संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । आइतबार बिहान नेकपा एमाले संसदीय दलका नेता अधिकारीले एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सहित ३१ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्नुभएको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ र स्वतन्त्र एक सांसद छन् । सदनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७ र राप्रपाका दुई सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर