
बर्दिया । बर्दियामा घाँस काट्न जंगल गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
आइतबार जिल्लाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल बस्ने २५ वर्षीया ममता सुनार बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभएको छ ।
करिव १२:३० बजे राजापुर नगरपालिका-१० सुकुम्बासी वस्ती नजिक रहेको वनमा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ। ।
महिलालाई उद्धारका लागि गएको प्रहरी टोलीले गम्भीर घाइते अवस्थामा फेला पारेको थियो । सुनारको जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्यालले बताउनुभयो ।
सुनार सँगै जङ्गल गएका स्थानीय २० वर्षीया कालिका बिक र ३६ वर्षीया निमा बिक बाघले आक्रमण गरेको देखेर बेहोस अवस्थामा भेटिएका थिए । दुबैको जिल्ला अस्पतालमा सामान्य उपचारपछि घर पठाई सकिएको प्रहरीले जनाएको छ ।
गत चार वर्ष यता राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा बाघको आक्रमणमा ३५ जनाको ज्यान गइसकेको जनाइएको छ ।