काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेशका दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ। शुक्रबार बसेको महानगरको विपद् व्यवस्थापन समितिको बैठकले आगलागीले बढी क्षति पुर्याएको दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकालाई १०/१० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको वैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय भएको महानगरले जानकारी दिएको छ ।

अनुदान सहायता रकम महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट पठाइनेछ । पालिकाहरुले महानगरपालिकासँग सहयोग माग गरेका थिए । महानगरबाट पठाइने अनुदान सहायता सहयोग रकम गाउँपालिकाहरुको प्रकोप व्यवस्थापन कोषमा पठाइने महानगरले जनाएको छ ।

आगलागीबाट गएको वैशाख १६ गते राजपुर गाउँपालिका-७ हाटबास क्षेत्रमा २५ घर र ३५ गोठ जलेर नष्ट भएको छ। त्यस्तै, वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा लागेको भीषण आगलागीबाट २८ घर, ५१ गोठ, १३ भैँसी, ७८ बाख्रा जलेर क्षती भएको थियो ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६ जरलहवा टोलका आगलागी पीडितलाई काठमाडौँ महानगरपालिकाले यस अघिनै १० लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराइसकेको छ । त्यससँगै देशभरका कतिपय गाउँपालिका तथा नगरपालिका लाई एम्बुलेन्स समेत उपलब्ध गराएको छ ।

जरलहवा टोलमा वैशाख १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय