प्यूठान । जिल्लामा आगलागी पिडित २२ परिवारलाई राहत सामाग्री प्रदान गरिएको छ । प्यूठान नगरपालिकाको १० परिवार र माण्डवी गाउँपालिकाको १२ परिवारलाई राहत सामाग्री प्रदान गरिएको हो ।
टेवा संस्था ललितपुरको आर्थिक सहयोगमा पूर्ण रुपमा घर जलेका परिवारलाई राहत प्रदान गरिएको महिला सहयोग मञ्च प्यूठानका अध्यक्ष पार्वता आचार्यले बताउनुभयो । माण्डवी गाउँपालिकाको २, ४ र ५ नम्वर वडा तथा प्यूठान नगरपालिकाको ३, ६ र ७ नम्वर वडाका अग्नी पिडितलाई राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
५० केजी चामल, ३ केजी दाल, ५ लिटर तेल, ५ केजी नुन, ५ केजी चिउरा, त्रिपाल सिरक, डसना र झुल वितरण गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । त्यसैगरी बालबालिकालाई स्टेशनरी र झोल वितरण गरिएको छ । त्रिपाल नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश मार्फत वितरण गरिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाको पहलमा राहत वितरणको लागि टेवा संस्थासँग समन्वय भएको आचार्यले बताउनुभयो । राहत वितरण कार्यक्रममा प्यूठान नगरपालिकाका उप–प्रमुख देवेन्द्र वर्मा, माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रहरी नायव उपरीक्षक इश्वर थापा, सम्वन्धित वडाका वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।