
प्यूठान । मापदण्ड विपरित नदिजन्य पदार्थ दोहन गरेको भन्दै माण्डवी गाउँपालिका वडा नम्वर ५ स्थित स्वर्गद्धारी एग्रीग्रेटको टिप्पर र डोजर पालिकाले नियन्त्रणमा लिएको छ । विहिबार अनुगमनमा गएको गाउँपालिकाको टोलीले झिमरुक नदीबाट नदिजन्य पदार्थ निकालिरहेको डोजर र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कागजात हेर्न माग्दा कम्पनीका कर्मचारीले कागजात नदिई ताल्चा लगाएर भागेको स्रोतले जनाएको छ । तोकिएको घाटभन्दा २५० मिटर माथीबाट मेसिनले नदिजन्य पदार्थ निकालिरहेको अवस्थामा प्रहरीको सहायतामा मेसिन नियन्त्रणमा लिएको हो । डोजर र टिप्परलाई प्रहरीले आफूले नियन्त्रणमा लिएर नराखी गाउँपालिकामा लगेर छाडेको छ ।
अनाधिकृत रुपमा निकालिरहेको खवर भएपछि पालिकाले आफ्नो क्षेत्राधिकार भित्रको विषयमा कारवाही प्रक्रिया अगाडी बढाएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताउनुभयो । कारबाही प्रक्रियामा प्रहरीले सहयोग गरेको प्रजिअ अर्यालले बताउनुभयो ।
घटनाबारे बुझ्न साहारा खबरले प्रमुख प्रशासकीय अधिकृतलाई सम्पर्क गरेपनि फोन उठेको छैन ।