
गुल्मी । गुल्मी र अर्घाखाँचीको सिमानामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका – ७, देउरालीस्थित तम्घास भित्री सडकमा ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटनामा टिपर चालकको ज्यान गएको हो ।
सोमबार राति करिब ९:४५ बजे दुर्घटनामा परि घाइते सन्धिखर्क नगरपालिका ८ खाँचीका २६ वर्षीय रामलाल पुरीको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनामा सन्धिखर्क नगरपालिका ७ का ३३ वर्षीय रिसभ केसी र सितगंगा नगरपालिका २ का २९ वर्षीय नविन घिमिरे घाइते हुनुभएको छ । घाइते दुवै जनालाई राती नै गुल्मी अस्पतालबाट लुम्बिनी मेडिकल कलेज पाल्पा रिफर गरिएको थियो । दुर्घटना भएको टिपर सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।