गुल्मी । राष्ट्रिय परिचयपत्र बारे गलत सूचनाले अशक्त तथा ज्येष्ठ नागरिकलाई समस्या निम्त्याएको भन्दै नेकपा (एमाले) गुल्मीले ध्यानाकर्षण गराएको छ । आइतबार एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालाई ज्ञानपत्र बुझाउदै नागरिकलाई सहज रुपमा राष्ट्रिय परिचय पत्र उपलब्ध नभइरहेको अवस्थामा केही प्रयोजनका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गराउनुले ज्येष्ठ नागरिकले सास्ती खेप्नुपरेको जनाएको हो ।
सरकारले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि श्रावण १ गते देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने नीति लिएको भन्दै परिचयपत्र बनाउने संख्या बृद्धि भएको छ । राष्ट्रिय परिचयपत्र अनिवार्य हुन्छ भन्ने हल्लाले गुल्मीमा पनि ज्येष्ठ नागरिकहरु राष्ट्रिय परिचयपत्र बनाउन भन्दै हतारिएर प्रशासन कार्यालयमा पुग्ने गरेका छन् ।
जसले गर्दा राष्ट्रिय परिचयपत्र बनाउन भन्दै प्रशासन कार्यालय पुगेका ज्येष्ठ नागरिकहरु चिसो भुइमा बसेर पालो कुर्न बाध्य छन् । यस समस्यामा राज्यले नागारिकलाई सेवा दिनुको सट्टा सजाय दिइरहेकाले यसको उचित समधान निकाल्न भन्दै एमाले गुल्मीको चार बुदे ध्यानकर्षण पत्र बुझाएको नेकपा एमाले गुल्मीको सचिव धर्म विश्वकर्माले बताउनुभयो ।
यस बिषयलाई तत्काल अनिवार्य नगर्न र सबैलाई सहज रुपमा राष्ट्रिय परिचय पत्र उपलब्ध गराउन अनुरोध गरेको छ । पछिल्लो समय सरकारी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीबाट भइरहेका गतिविधिहरुले आम गुल्मेली नागरिकले सास्ती खेपिरहेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जानकारी गनाएको छ ।
जिल्लास्थित सरकारी कार्यालयबाट भइरहेको सेवा प्रवाहको सन्दर्भमा ढिलासुस्ती, विकासे योजनाको फितलो अनुगमन, एउटै कामका लागि पटकपटक नागरिकलाई सास्ती दिने र राजनीतिक ढंगबाट समेत पूर्वाग्रह राखेर काम गर्ने प्रवृत्ति बढेकोले त्यसलाई अनुगमन, नियमन तथा नागरिकमैत्री सेवातर्फ लैजान अनुरोध गरिएको अध्यक्ष बालसिंह काउछाको भनाई छ ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी शर्माले यी बिषयवस्तुमा गम्भीरताका साथ लिएको बताउनुभयो । उहाँले राष्ट्रिय परिचयपत्र बिवरण दर्ता गराउने कार्यलाई ज्येष्ठ नागरिकको हकमा स्थानीय तहमै पुगेर संकलन गर्ने बारे छलफल भइरहेकाले धैर्य रहनु सबैलाई आग्रह गर्नुभयो । उहाँले सरकारी कार्यालयलाई सेवाप्रवाहमा नागरिक मैत्री सेवा प्रदान गर्न सबै कार्यालाई निर्देशन गर्दै आइरहेकाले कहि कतै त्यस्तो भए अनुगमन र गोप्य रुपमा पनि निरीक्षण गर्ने बताउनुभयो ।