प्यूठान । असारको पहिलो हप्ता बितिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै सुक्न थालेका छन् । किसानले मकै लगाउने समय (फागुन, जेठसम्म)मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका यहाँका किसान असारको पहिलो हप्ता सकिदा समेत वर्षा नभएपछि चिन्तित छन ।
जिल्लामा आकाशबाट पानी नपरेको कारण बल्लतल्ल जेठको पछिल्लो सातादेखि बारीमा रोपेको मकैबाली हुर्कन नपाउदै खेतबारीमै सुक्न थालेपछि झिमरुक-६ का स्थानीय किसान सेर बहादुर पुन निकै चिन्तित हुनुभएको छ । “वर्षभरि खाने खेतबारीमा लगाएको मकै सुक्न थालिसक्यो,” उहाँले भन्नुभयो, ” रोपेदेखि पानी नपरेपछी हुर्कन पाएका छैनन ।”

झिमरुक गाउँपालिका-६ का राम बहादुर पुनले हिउँदमा वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि उत्पादन नभएको र अहिले बर्खा लागिसकेपनि पानी नपर्दा मकैबाली राम्रो नभएको बताउनुभयो । “अहिले मुलुकभर खडेरी परेको छ। खेतबारीमा रोपेको मकै बारीमा सुक्न थाल्यो” उहाँले भन्नुभयो, “यस्तै अवस्था अझै रहेमा भोकमरी हुने भयो ।”

खेतमा रोपेको थान कुलोमा पानी नभएर खेत सुख्खा भएकोले रोपो जोगाउन गाह्रो भएको स्थानीय किसान बताउँछन । खेतमा रोपाइँका लागि राखेको धानको ब्याड पनि पहेँलिँदै गएको छ। खडेरीका कारण किरा र कमिलाले बीउ खाएर नष्ट गर्न थालेका छन् । पानी अभावमा खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेपछि स्थानीय किसान चिन्तित भएका छन ।



S.K. Creative Media Group