
नवलपरासी । पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्डको दाउन्नेमा शनिबार बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ । शुक्रबार साँझ सडक भासिएपछि मर्मत् गरेर मध्यरात केही समय एकतर्फी सञ्चालन गरिएको सडक शनिबार विहान फेरी अवरुद्ध भएको हो ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोलामा सडक भासिएको थियो । मर्मत गरी शनिबार बिहान एकतर्फी सवारी आवागमन शुरु गरिए पनि फेरि सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो।
वर्षासँगै आएको पहिरोले भासिएको सडकको मर्मतको काम भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा सो सडक भएर पूर्व र पश्चिम बाट आउने जाने सवारी बाटोमै रोकिएका छन् । यसअघि असोज १४ गते पनि सोही स्थानमा सडक भासिएको थियो । लगातारको वर्षाले विभिन्न स्थानमा सडक चर्कीने र भासिने गरेको छ ।
सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट प्रयास भइरहेको डिएसपी बोहराले बताउनुभयो । सडक सर्मत गरेर सवारी साधन सञ्चालन गर्नका लागि समय लाग्ने उहाँको भनाइ छ।