काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन बलिया राजनीतिक दल आवश्यक पर्ने बताउनुभएको छ । बिहीबार कीर्तिपुरमा आयोजित स्थानीय तह उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकलाई विकास समृद्धिको बाटोमा लैजान धेरै राजनीतिक दल भएर सम्भव नहुने बताउनुभयो ।

हिजो अधिकारको लडाइँ लड्दा जति धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भए पनि अब विकासको काम गर्न बलिया र स्पष्ट दृष्टिकोण भएका राजनीतिक दल आवश्यक पर्ने पोखरेलका भनाइ छ । ‘विकास र समृद्धिको बाटोमा अघि बढ्न धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल आवश्यक पर्दछ’, उहाँले भन्नुभयो ।

राजनीतिक अस्थिरताको कारण नेपाल बन्न नसकेको बताउँदै पोखरेलले अब नेपालमा धेरै राजनीति दल होइन बलिया राजनीतिक दल बनाउने सङ्कल्प गर्नुपर्ने बताउनुभयो । ‘३२ सिटले म्याजिक नं भन्दै जनताले अस्वीकार गरेकाहरूले शासन गर्ने युगको अन्त्य गर्नुपर्दछ’, पोखरेलले भन्नुभयो । पोखरेलले बलियाले नीतिको आधारमा मुलुकको नेतृत्व गर्नुपर्ने बताउनुभयो । सो दिशा तर्फ मुलुकलाई डोर्‍याउन अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पोखरेलले देश बनाउने हो भने अब युवा राजनीतिमा आउनु पर्ने बताउनुभयो । नेपालमा केही हुँदैन भन्दै युवा विदेश गएर देश नबन्ने उहाँले स्पष्ट पार्नुभयो । देश बनाउनको लागि देशमा नै बसेर काम गर्नुपर्ने पोखरेलको धारणा छ ।

जति बेला एमाले सरकारमा हुन्छ त्यति बेला युवाको विदेश पलायन घटेको उहाँले दाबी गर्नुभयो । ‘त्यसैले नेकपा एमाले युवालाई देशमा टिकाउने पार्टी भएको उहाँको दाबी छ । देशको स्वाभिमानको झण्डा उठाउन सक्ने एमाले, देशमा विकास र समृद्धिको काम गर्न सक्ने नेकपा एमाले’, पोखरेलले भन्नुभयो । मुलुकको विकास र समृद्धिको यात्रा अघि बढाएर देशमा निराशा चिर्ने पार्टी नेकपा एमाले भएको उहाँले दाबी गर्नुभयो ।

निराशालाई चिर्नको लागि नेकपा एमालेले कीर्तिपुरमा सुरेन्द्र मानन्धर जस्ता युवालाई चुनावी मैदानमा उतारेको उहाँले बताउनुभयो । ‘अब निराशाको समय सकियो, आशाको समय सुरु भएको छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय