सत्यराज सिंह, बझाङ । बिहीबार (गएराति) बझाङको मष्टा र तल्कोट गाउँपालिकामा भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधिसभा इन्चार्ज ऐन महर यस घटनामा गहिरो शोक व्यक्त गर्दै, ज्यानमारा सडकहरूको सुधारमा सरकार र जनप्रतिनिधिहरुलाई ध्यान दिन आग्रह गर्नुभएको छ । मष्टा गाउँपालिका–१ कोटदेवलमा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिप दुर्घटना परेर मष्टा गाउँपालिका–१ रनाडा घर भएका चालक ४२ बर्षीय धर्म थापाको मृत्युभएको छ ।
त्यसैगरी, तल्कोट गाउँपालिका–२ स्थित धमेनामा से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना परेर ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर केदारस्युँ गाउँपालिका–१ रायलका जीप चालक ३२ बर्षीय समशेर मल्ल, तलकोट गाउँपालिका–४ घर भएका ३६ बर्षीय बम बहादुर धामी, उनकि ७२ बर्षीय आमा जौमती देवी धामी र उनकि ६ बर्षीया छोरी आकृति धामीको मृत्यु भएको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले यस घटनामा गहिरो समवेदना प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । साथै, उहाँले सरकार र सम्बन्धित निकायलाई देशभरका ज्यानमारा सडकहरूको सुधारमा तात्कालिन कदम चाल्न आग्रह गर्नुभएको हो । महरले भन्नुभयो, ‘यस प्रकारका दुर्घटनामा अझै कति जनाको ज्यान जाने हो । ग्रामिण सडकमा दिनहुँ यस्ता दुर्घटनाका खबर आइरहन्छन् । सडकको सुरक्षा मर्मत र सुधारका लागि सरकार र जनप्रतिनिधिहरूले यस विषयमा संवेदनशील भएर काम गर्नुपर्छ ।’




S.K. Creative Media Group