गुल्मी राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ गतेदेखि संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्न लागेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति गुल्मीले शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गरेर देशमा संघीयता जनताको माग र देशको राष्ट्रिय आवश्यकताका आधारमा नआएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिएको हो ।

राष्ट्रिय जनमोर्चाले चैत २४ देखि ३० गतेसम्म राजधानी काठमाडौमा संघीयताको खारेजी, गणतन्त्रको रक्षा, भ्रष्टाचार उन्मूलन र सुशासनका लागि आन्दोलन गर्ने भएको जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीले जानकारी दिनुभयो । अध्यक्ष क्षेत्रीका अनुसार राष्ट्रिय जनमोर्चा जिल्ला समिति गुल्मीले यहि पौष २५ गते जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण गरिसकेको छ ।

जिल्लाभर माघ महिना भित्र संगठनात्मक तथा प्रचारप्रसार अभियानलाई तिव्र पार्ने छ । पार्टीले स्थानियस्तरमा बैठक, प्रशिक्षण,सदस्यता वितरण, टोल समितिहरुको गठन, पर्चा वितरण र कोणसभा गरिने भएको छ ।

देशमा सङ्घीयता जनताको माग र देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकताका आधारमा नआएको भन्दै विभिन्न साम्राज्यवादी देशहरू, मुख्यतः भारतीय साम्राज्यवाद र पश्चिमी साम्राज्यवादी देशहरूको दबाबका कारणले नै नेपालमा सङ्घीयता ल्याइएको उहाँको भनाई छ ।

लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले संघीयता देशको  हितमा हुँदै नभएको र स्थानीयदेखि सरकार भ्रष्टाचारमा लिप्त भएको बताउनुभयो । थापाले संघीयता जनताको दैनिक हितमा नभएको , आर्थिक र सामाजिक सद्भाव भत्काउने  अवस्था सिर्जना गरेकाले यसको छिटो खारेज गर्नु देशका लागि हितकर हुने बताउनुभयो ।

समस्याका जड नै  ठुला पार्टी रहेको आरोप लगाउदै थापाले स्थानीय निकाय र सरकार भष्ट्राचारका केन्द्र भएको दाबी गर्नुभयो ।  साना दलहरूको टाउकोमा दोष थुपारेर ठुला दलहरू पानी माथिको ओभानो बन्न खोजेको उहाँको भनाई छ ।

फागुन महिनामा आर्थिक अभियान संचालन र चैत्रमा जिल्लाबाट काठमाडौंमा सैयौं जना सहभागिता बनाउन तयारी थालिएको जनमोर्चा गुल्मीले जनाएको छ । त्यस्तै  रामकुमार क्षेत्रीको संयोजकत्वमा सात सदस्यीय आन्दोलन व्यवस्थापन तथा परिचालन समिति निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय