
प्यूठान । गुल्मी जिल्लाको पर्यटकीय गन्तव्य कङ्के देउरालीमा जलाशय नमुना परियोजना निर्माणका लागि सर्वपक्षीय प्रतिनिधि मण्डलले अर्थमन्त्रीसँग भेट गरेको छ । प्यूठानका प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्री सहितको टोलीले गुहारी जलाशय नमुना परियोजना र अन्य विभिन्न विकास योजनाबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको हो ।
तीन जिल्ला गुल्मी, प्यूठान र अर्घाखाँचीको सीमावर्ती क्षेत्र कङ्के देउरालीमा ३२ मिटर अग्लो, १ हजार मिटर लामो गुहारी जलाशय नमुना परियोजना निर्माणका लागि पहल भइरहेको छ । उक्त भेटमा सालझण्डी– ढोरपाटन सडक, बाग्दुला–भीमगिठे सडक, मदन भण्डारी राजमार्ग– अनएच, १९ गोखुंगा-खरिबोट-बाग्दुला खण्ड, बृहत् बिजुवार खानेपानी आयोजना, विभिन्न पक्की पुललगायतका योजनाका बारेमा समेत अर्थमन्त्रीसँग गम्भीर छलफल भएको सांसद थापाले जानकारी दिनुभयो।
नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, प्रधानमन्त्रीका पूर्व जनसम्पर्क सल्लाहकार बुद्धिबहादुर जिसी, नेपाली काँग्रेस, गुल्मीका नेता शिव केसी, वडाध्यक्ष सन्तोष केसी, नेकपा(एमाले) का नेता सुशील भट्टराई लगायतको सहभागिता रहेको थियो ।