प्यूठान । ऐरावती गाउँपालिकाको १७ औं गाउँ सभा सम्पन्न भएको छ । ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षतामा गाउँसभा सम्पन्न भएको हो ।
गाउँसभामा प्रतिवेदन पेश गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले हालसम्म गाउँपालिकाले गरेका कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । पालिकाकाले कर्मचारी व्यवस्थापन, गाउँपालिका भित्रका मुख्य सड्क मर्मत र भुक्तानी, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन कर्मचारी छनौट, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनौट गरिएको, महेन्द्र मावि सराङ्गबेसीको भवन निर्माणको लागि भारतीय राजदुतावासमा आवश्यक पहल , ८ वटा योजनाको ठेक्का, १५ शैयाको आधारभुत अस्पतालको निर्माण कार्य भैरहेको लगायतका कार्यहरु पालिकाबाट भएको उहाँँले बताउनुभयो ।

ऐरावती गाउँपालिकाबाट आर्थिक वर्ष २०८१।०८२ का लागि स्वीकृत भएका २९४ वटा योजना मध्ये २१८ वटा योजनाहरु उपभोक्ता समिति मार्फत संचालन हुने गरी संझौता पश्चात कार्यान्वयन भैरहेको समेत प्रमुख प्रशासकीय अधिकृत विश्वकर्माले बताउनुभयो । चालु आर्थिक वर्षको हालसम्म ३२.८ प्रतिशत खर्च भएको समेत उहाँले बताउनुभयो ।
सभामा विभिन्न ऐन, नियवावली र कार्यविधि पारित
१७ औं गाउँसभाबाट विभिन्न ऐन, नियवावली र कार्यविधि पारित भएका छन् । व्यवसाय कर समबन्धी कार्यविधि, २०८१, ऐरावती गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी ऐन, २०८१, ऐरावती गाउँपालिकाको मर्मत संभार कार्यविधि २०८१, ऐरावती गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी नियमावली २०८१ र कर्मचारी कल्याण कोष संचालन कार्यविधि २०८१ पारित भएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो ।
गाउँसभामा आर्थिक वर्ष २०८१।०८२ को योजना तथा कार्यक्रम संचालनका विषयमा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी गराउनुभएको थियो ।
गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँसभाका सदस्यहरु, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।



S.K. Creative Media Group