
रोल्पा । रोल्पामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर ६ थुम्काका ४० वर्षका खिमबहादुर बुढामगरले ३२ वर्षीया श्रीमती अस्मिता बुढामगरलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
खुकुरी प्रहारबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई खुकुरी प्रहार गरी घाइते बनाएको जानकारी चौकी जुगारले पाएपछि प्रहरी चौकी जुगारका प्रहरी नायब निरीक्षक दिवश हिताङको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुग्दा अस्मिता मृत अवस्थामा फेला पर्नुभएको थियो ।
प्रहरीले खिमबहादुर र उनले प्रयोग गरेको खुकुरी नियन्त्रणमा लिएको छ । छिमेकीका अनुसार बेला बेलामा श्रीमान् श्रीमती झगडा गर्ने गरेका थिए ।
इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापतिको कमान्डमा घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।