प्यूठान । झिमरुक गाउँपालिकाले आफ्ना मातहतमा रहेका प्राविधिक कर्मचारीहरुसँग चालू आर्थिक वर्षमा भए गरेको प्रगति बारे समीक्षा बैठक गरेको छ । मंगलबार चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लागेसँगै चौमासिकमा वडा तथा शाखाबाट भएको भौतिक प्रगति र आगामी चौमासिकमा गर्नुपर्ने कामको समीक्षा गरिएको हो ।
भौतिक प्रगति हेर्दा सुस्त देखिएकोले कामको गति बढाउनतर्फ प्राबिधिक कर्मचारीले चनाखो भएर फिल्डमा खट्न गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले अनुरोध गर्नुभयो । पालिकाबाट चालू आर्थिक वर्षमा स्वीकृत योजना प्रगति तिब्र बनाउन प्राबिधिक कर्मचारी र उपभोक्ता समितिको भुमिका महत्त्वपूर्ण हुने भएकोले जिम्मेवारी पुर्वक काममा लाग्नुपर्ने बताउनुभयो ।
नियमित भएगरेको भौतिक प्रगति वडाले शाखालाई समयमै जानकारी गराउन समेत अनुरोध गर्नुभयो । वडाले प्रगति र समस्या बारे समयमै जानकारी गराउदा सुधार गरेर अगाडि बढ्न सहज हुने भएकोले कार्यकुशलता सहित कार्यमा खट्न अध्यक्ष एमसीले सुझाव दिनुभयो ।
कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेलले योजनाको गुणस्तरमा बढी चनाखो भएर प्राविधिक कर्मचारीले नियमित कार्यमा अग्रसरता देखाउनुपर्ने बताउनुभयो । योजनाको प्रगति सँगसँगै पालिकामा कार्यान्वयनमा रहेका योजनाको गुणस्तरीय शुद्धता आवस्यक रहेको बताउनुभयो ।
बैठकले वडातहमा हुने योजनाको सहजीकरणको लागि एक जना जनप्रतिनिधिलाई फोकल फर्सनको रुपमा जिम्मेवारी दिने ब्यवस्था मिलाउने, पालिकाबाट संचालन भएका योजनाको कार्यान्वयनको अवस्था, सम्पन्न आयोजनाको प्रगति विवरण, लगायतको विषयमा वडा समितिलाई योजना कार्यान्वयनसंग सम्बन्धीत विषयमा जिम्मेवारी बनाउन जानकारी गराउने, फरफारक समितिको प्रत्यक हप्ताको आईतवार अनिवार्य रुपमा बैठक बस्ने ब्यवस्था मिलाउने निर्णय भएको छ ।
चालु आर्थिक वर्षमा करिब २ सय ४६ भौतिक पुर्वाधार निर्माणको योजनामा बजेट बिनियोजन गरेको पालिकाले अहिलेसम्म ५० प्रतिशत योजनाको काम सम्पन्न भएको जनाएको छ । तर केही योजनाको अनुगमन सुपरिवेक्षण तथा फरफारकको काम बाँकी रहेकोले भुक्तानी नभएको इन्जिनियर अशोक जिसीलेले जानकारी दिनुभयो । सबै प्रक्रिया पुगेर आएपछि भुक्तानी नरोकिने उहाँले जानकारी दिनुभयो । बाकी रहेका अन्य योजनाको समेत प्राबिधिक सर्भे र लागत अनुमान तयार भएर काम भैरहेको इन्जिनियर जिसीले जानकारी दिनुभयो ।
सम्झौता गर्न बाँकी रहेका योजनाको लागत तयार गरि तत्काल कार्य प्रारम्भ गर्न आग्रह गर्नुभयो । ठेक्का मार्फत गरिने ठुला आयोजनाको काम सुरु भएको र केहीको सम्झौता गरि काम सुरु गर्ने तयारीमा रहेको पालिकाले जनाएको छ ।
बैठकमा वडा तथा शाखाले गरेको दोस्रो चौमासिक सम्ममा भएगरेको योजनाको भौतिक प्रगति प्रस्तुत गरिएको थियो । गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको बैठकमा पालिका उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पोख्रेल, लेखा अधिकृत पिताम्बर मरासिनी, इन्जिनियर अशोक जिसी, योजना शाखा प्रमुख सुकदेब रिजाल, वडा प्राबिधिक लगाएको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group