
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीय सरकारले लुम्बिनीको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।
`तीन तहका सरकारबीच समन्वय र सहकार्य भएमा लुम्बिनीको विकासले गति लिने थियो,´ उहाँले भन्नुभयो, `संघीय सरकारले यसमा विशेष ध्यान दिन जरुरी छ ।´
मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनुपर्नेमा जोड दिँदै, त्यसबाहिरका काम नहुनु पर्ने स्पष्ट पार्नुभयो । उहाँले गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्ने जस्ता प्रवृत्तिको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
लुम्बिनी विकास गुरुयोजनाअनुसार ४२ वटा प्लट निर्धारण गरिएका छन् । उहाँले विश्वभर बुद्धको शान्ति र ज्ञान फैलाउन गुम्बाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त गुम्बाको शिलान्यास पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।