प्युठान । जिल्लाको झिमरुक गाउँपालिका-५, स्थित मच्छि बसपार्कमा हाट बजार व्यवस्थापन तथा सञ्चालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । आइतबार गाउँपालिकाको सभाहल मच्छिमा स्थानीय सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

हाटबजार सञ्चालनमा आउँदा उपयोगी र किसानले आफुले उत्पादन गरेको कृषि उपजहरुलाई बिक्रीवितरणमा सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताउनुभयो । हाटबजार सञ्चालनमा आएपछि गाउँमा किसानले उत्पादन गरेका हरेक कृषि उपजलाई ल्याएर उचित मुल्यमा बिक्रीवितरण गरी आम्दानी बढाउन सकिने बताउनुभयो ।

हाटबजार सञ्चालन गर्दा समय निर्धारण, सञ्चालनको जिम्मा, स्टल तथा मुल्य सुची लगायतलाई कसरी व्यवस्थित गर्ने भन्ने बिषयमा ग्रुप छलफल भएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो । ग्रुप छलफलमा आएका सल्लाह र सुझावको आधारमा अगाडि बढ्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो

हाटबजारको लागि खानेपानी, शौचालयर फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तह, बजार व्यवस्थापन समिति बजारबासी लगायतको सहकार्यमा व्यवस्थित गर्दै लैजाने निष्कर्ष निकालिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो । स्थानीयको दुई रोपनी जग्गा १० वर्षको लागि लिजमा लिएर गाउँपालिकाले गत आर्थिक वर्षको बजेटबाट हाटबजार निर्माणको काम सम्पन्न गरेको हो ।

निर्माणाधीन हाटबजारलाई कसरी सञ्चालन तथा ब्यवस्थापन गर्ने भन्ने उदेश्यले आज सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो ।

स्थानीय तथा सरोकारवाला निकायको अन्तरक्रियाबाट आएको सुझाव र सल्लाहका आधारमा हाटबजार सञ्चालनमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, वडा अध्यक्ष धुर्व खनाल, मीन बहादुर खत्री, दधिराम पोख्रेल, कृष्ण बहादुर जिसी, उद्योग बाणिज्य संघ मच्छीका अध्यक्ष भरत ढकाल, विभिन्न शाखाका शाखा प्रमुख इलाका प्रहरी कार्यालय मच्छिका प्रमुख, सहकारी सञ्जालका अध्यक्ष, अगुवा कृषकहरु लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदेश्यबारे कृषि शाखाको शाखा प्रमुख तृसना जिसीको प्रस्तुति रहेको थियो भने कार्यक्रमको सञ्चालन कृषि प्राविधिक विविध भट्टराईले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय