प्युठान । झिमरुक गाउँपालिका अन्तर्गतको बतासेडाँडा-घुम्नेठाँटी सडक खण्ड कालोपत्रे गर्ने कार्य तीव्र पारिएसँगै सडक यातायात प्रभावित हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै बतासेडाँडा-घुम्नेठाँटी खण्डमा सडक स्तरोन्नतिको काम भैरहेकोले सो सडकमा सब-बेसको कामका लागि ५ दिन सवारी आवागमन बन्द रहने जनाएको हो।
बाग्दुला – बतासेडाँडा – मच्छी – लामासेरा झिमरुक गाउँपालिका पहुँचमार्ग अन्तर्गत बतासेडाँडा-घुम्नेठाँटी खण्डमा प्रथम लेयर सव-बेस (Sub-base) को काम भइरहेकाले सडक पुर्णरुपमा बन्द गर्नु परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मरराज सेजुवालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यहीँ कार्तिक १७ गतेदेखि कार्तिक २१ गतेसम्म (५ दिन) दैनिक बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म बतासेडाँडा – घुम्नेठाँटी सडक खण्ड बन्द हुनेछ ।
बैकल्पिक मार्गको व्यवस्था
बतासेडाँडा – घुम्नेठाँटी सडक खण्ड बन्द रहने समयमा सो रूट भएर चल्ने सम्पूर्ण सवारी साधनहरूका लागि बैकल्पिक मार्ग तोकिएको छ। गाउँपालिकाले यातायात सेवा अवरुद्ध हुन नदिनका लागि चालकहरूलाई पिडाल्ने, रातटारी हुँदै कुटिचौरको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
गाउँपालिकाले विकास निर्माण कार्यमा सहयोग पुर्याउन र यात्रा गर्दा पर्न सक्ने असुविधाप्रति गाउँपालिका क्षमाप्रार्थी समेत रहेको जानकारी गराएको छ।


S.K. Creative Media Group