भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो लागेको आगलागीमा परी हतुवागडी गाउँपालिका-७ बस्ने एक बालिका र दुई बालकको निधन भएको हो ।

आगलागीबाट हतुवागडी गाउँपालिका-७ का ​रमेश कार्कीकी सात वर्षकी छोरी दिपशिखा कार्की, तीन वर्षीय छोरा दियनिस कार्की र अर्का स्थानीय केदार कार्कीका छ वर्षका छोरा प्रनिश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिनुभयो ।

बालबालिकाहरू गोठमा खेलिरहेका बेला आगलागीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी भएको स्थानीयले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली आगलागी नियन्त्रणको लागि घटनास्थलतर्फ गएको र थप विवरण आउन बाँकी रहेको छ ।

यता जंगलको डढेलो बस्तीमा पस्दा भोजपुरको टक्सारमा आठ घर जलेर नष्ट भएको छ । भोजपुर नगरपालिका–१२ टक्सारको मालेबाँसेस्थित जंगलको डढेलो बस्तीमा पस्दा स्थानीयबासीको घर जलेको हो । शनिबार करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको घर पूर्ण रुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय