
प्युठान । झिमरुक गाउँपालिकाको १५ औँ गाउँ सभा आइतबार गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा पालिकाको सभाहलमा सम्पन्न भएको छ । सभामा लैजाने कार्यसुचिका विषयमा पौष २२ गतेको गाउँ कार्यपालिकाको आठौं बैठकले तय गरेको थियो ।
झिमरुक गाउँपालिकाको गाउँ सभाको १४ औँ अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ । चालु आर्थिक बर्षमा गाउँपालिकाको सञ्चित कोषबाट खर्चका लागि ५० करोड २ लाख २२ हजार १ सय ५० रुपैयाँ विनियोजन गरिएको छ । त्यस मध्य आर्थिक वर्ष २०७९/०८० को बचत रकम आर्थिक वर्ष २०८०/०८१ मा वाँडफाँड गरि बचत रहेको ७२ लाख ५२ हजार ६ सय १२ रुपैयाँ १२ पैसा समेत गरि ५० करोड ७४ लाख ७४ हजार ७ सय ६२ रुपैयाँ १२ पैसा लाई कुल बजेट पारित गरिएको पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभयो । जसमध्ये पुस २९ गतेसम्ममा १४ करोड १० लाख रुपैया खर्च भएको उहाँले बताउनुभयो।
सभामा चालु आर्थिक बर्षमा गरिएको खर्चका विषयमा जानकारी गराउँदै उपाध्यक्ष प्रमोद पोख्रेलले भन्नुभयो, ‘अहिलेसम्म विनियोजन गरिएको रकमको २८.०३ प्रतिशत खर्च भएको छ । जसमध्ये पूर्वाधार विकासमा ४.४७ प्रतिशत, आर्थिक विकासमा ६.२८ प्रतिशत, सामाजिक विकासमा ३८.१८ प्रतिशत खर्च भएको छ।’
सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रतर्फ १२.६५ प्रतिशत खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा २०.८५ प्रतिशत खर्च भएको छ । उहाँले भन्नुभयो, ‘विकास निर्माण कार्यको भौतिक प्रगति बढी भए पनि कतिपय खर्च भुक्तानी प्रक्रिया गएको र भुक्तानी नभई सकेका कारण वित्तीय प्रगति कम देखिएको छ ।’
चालु आर्थिक बर्षमा आन्तरिक आम्दानीतर्फ ७५ लाख ८४ हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । यसमध्ये पुस २६ गतेसम्ममा ३२ लाख ५९ हजार रुपैयाँ संकलन भएको छ । जसमा आन्तरिक आय अन्तर्गत प्रतिशतमा कुल आम्दानीको लक्ष्य अनुसार प्रगति ४२.९८ प्रतिशत छ ।
गाउँ सभामा बजेट तथा कार्यक्रमको संशोधन प्रस्ताव राख्दै उपाध्यक्ष पोख्रेलले भन्नुभयो, ‘स्वीकृत नीति तथा कार्यक्रम बजेटको लक्ष्य हासिल गर्न बजेट कार्यक्रममा केही हेरफेर गर्न जरुरी देखिएको छ । विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नु पर्ने देखिएकोले संशोधन प्रस्ताव गर्नु परेको हो ।
सभामा सिताराम पोख्रेलले विभिन्न ऐनहरु संशोधन र मेलमिलाप कर्ताको सुची अनुमोदनको लागि पेश गर्नुभएको थियो । दधिराम पोख्रेलले बिनियोजन ऐन २०८० लाई संशोधन, चोप बहादुर बिकले योजना/आयोजना तथा कार्यक्रम संशोधन, कल्पना थापा एमसीले गाउँ कार्यपालिका बैठकको निर्णय अनुमोदन, र कृष्ण बहादुर जिसीले आर्थिक वर्ष २०७९/०८० को मलेपको प्रारम्भिक प्रतिबेदनलाई पहिलो सभामा पेश भएको थियो । सभाले सबै लाई अनुमोदन गरेको छ । बिनियोजन ऐन संशोधन विधेयक २०८० स्वीकृत भएको छ । झिमरुक गाउँपालिकाको न्यायीक समितिले उजुरीको करवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा ब्यवस्था गर्न बनेको ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८० सभाले पारित गरेको छ । त्यस्तै झिमरुक गाउँपालिकाको सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०८० पनि पारित भएको अध्यक्ष महतरा क्षेत्रीले जानकारी दिनुभयो ।
त्यस्तै गाउँसभामा सभाका सदस्यले विभिन्न कार्यसुचीमा उठाएका कतिपय बिषयमा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले स्पष्ट पर्नुभएको थियो । सभाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, पुर्वाधार, लगाएतको बिषयमा पहिलो प्राथमिकता राखेर बजेट संशोधन गरेको छ। गाउँपालिका अध्यक्ष एमसीले पालिकाको समग्र बिकासमा सबैको सहकार्य बिना सफल नहुने भन्दै सबैलाई गाउँको बिकासमा सहकार्य एकताका साथ लाग्न समेत अनुरोध गर्नुभएको छ।