प्युठान । प्युठानमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ। मंगलबार “स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौ, भुकम्प थेग्ने संरचना बनाऔँ” भन्ने नारा सहित २६ औ भुकम्प सुरक्षा दिवस मनाइएको हो । मल्लरानी गाउँपालिका-४, खलंगा स्थित महेन्द्र माध्यमिक विद्यालयबाट ब्यानर, प्लेकार्ड सहित सुरु भएको र्यालिले बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा भएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती प्युठानका प्रमुख धरम बहादुर जिसीले नेपालमा विगतमा गएका भुकम्पको अनुभव र क्षति हुने कारण बारे पाठ लिएर अघि बढ्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा प्रमुख अथिती समेत रहनुभएका जिसीले तीनै तहका सरकारसँगको समन्वयमा मात्रै विपद् व्यवस्थापनका काम प्रभावकारी बनाउन सकिने बताउनुभएको छ । स्थानिय जनतालाई भुकम्प प्रतिरोधात्मक संरचना निर्माणमा प्राबिधिक पक्षमा सहयोग गर्नुपर्ने बताउनुभयो। त्यसको लागि स्थानीय तहले विपद् व्यवस्थापनका क्रियाकलापमा योजनाबद्ध तरिकाले अगाडि पढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र स्थानीय स्तरमा आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो । क्षती भुकम्पका कारण नभइ हामेले बनाएका भौतिक संरचनाका कारण हुनेभएकाले भुकम्पप्रतिरोधि संरचना निर्माणमा जनतालाई अभिप्रेरित गर्नुपर्ने बताउनुभयो ।
मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले स्थानीय स्रोत साधनको प्रयोगबाट पनि राम्रा, बलिया र भूकम्प प्रतिरोधी घरहरु बनाउन सकिने भएकोले स्थानीय तहमा त्यसको लागि स्थानीयलाई आवश्यक ज्ञान सीप दिन जरुरी रहेको बताउनुभयो । त्यसको लागि स्थानिय तह लागिपरेको बताउनुभयो । दक्ष प्राबिधिकबाट नाप नक्सा बनाएर घर बनाउने नीति भएपनी यसको गाउँ गाउँसम्म व्यापक प्रचारप्रसार नहुदा कार्यान्वयनमा समस्या भएको बताउनुभयो । भुकम्प प्रतिरोधात्मक भवन निर्माण अन्य विपत्तिको बेला राहत, उद्धार र पुर्नस्थापनका बिषयमा गाउँपालिकाले अभियान चलाउदै आएको बताउनुभयो । प्राकृतिक विपदबाट हुन सक्ने क्षति र न्यूनीकरणका लागि आम समुदाय पनि जागरुक हुनुपर्ने बताउनुभयो । कार्यक्रमना बोल्ने बक्ताहरुले अब बन्ने संरचनाहरु भुकम्प प्रतिरोधात्मक बनाउन तर्फ राज्यका सबै तह र सरकारले यसका विविध विषयलाई केलाएर योजनाबद्ध रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको जिल्ला समन्वय समतिका प्रमुख धरम बहादुर जिसीको प्रमुख आतिथ्यमा रहेको थियो । मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खडका, जिल्ला जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, बिभिन्न संघ संस्थाका प्रमुख, शिक्षक, बिद्यार्थी, कर्मचारी, पत्रकार लगायत स्थानियको उपस्थिति रहेको थियो ।