२० कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै लगानीका लागि आह्वान गरेका छन् । उनले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताए ।

एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७ औं क्यासी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले भूकम्प र कोरोना महामारीबाट उठ्दै गरेको नेपाललाई यस किसिमको भेलाले सहयोग पुग्ने बताए ।

नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न सम्मेलनमा उपस्थित दुई दर्जन बढी देशका व्यवसायीलाई डा. महतले आग्रह गरे ।

नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उनले बताए ।

उनले भने, नेपालमा गरिएको लगानीको भविष्य उज्ज्वल रहेको छ जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्नुस् ।’

उनले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत् उपयुक्त क्षेत्र भएको बताए ।

बंगलादेशले पनि विद्युत् खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्चित गरेको महतले बताए ।

यस्तै सूचना र प्रविधि क्षेत्रमा समेत सरकारले लगानीको सम्भावना देखेको बताउँदै उनले भने, ‘यही सम्भावना देखेर चालु वर्षको बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा आयकर घटाएको हो ।’

सफ्टवेयर निर्यात गर्दा बजेटमार्फत आम्दानीमा लाग्ने करमा ५० प्रतिशत छुटको सुविधा दिइएको अर्थमन्त्री महतले जानकारी दिए ।

‘नेपालको आईटी सेक्टरमा ठूलो सम्भावना छ । विदेशी लगानीकर्ता पनि नेपालमा लगानी बढाउन इच्छुक छन्,’ उनले भने, ‘नेपालमा लगानी गर्नेलाई सरकारले स्वागत गर्छ, वातावरण बनाउँछ ।’

नेपालमा लगानी गर्नलाई ‘वान डोर विन्डो’ सञ्चालनमा रहेको र ठूला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको महतले बताए ।

नेपालमा लगानीका लागि थप वातावरण र कन्फिडेन्स सिर्जना गर्न आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजनाका लागि सरकार जुटेको जानकारी दिदै महतले भने, ‘विश्व बैंक र एडीबीले नेपालका दुई जलविद्युत् आयोजनामा लगानीको तयारी गरिरहेका छन् । यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुन्छ । ग्रीन बन्डलगायतमा फाइनान्सिङ औजारहरुमा समेत लगानी गर्न मिल्ने गरि नेपाल सरकार अघि बढेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय